तेह्रथुम । मेन्छयायेम सञ्चार सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभामा ब्लाष्टकर्मी रमेश थापा सम्मानित भएका छन् ।

आइतबार तेह्रथुमको म्याङ्लुङ नगरपालिका स्थित उद्योग वाणिज्य संघको हलमा संस्थाले आयोजना गरेको वार्षिक साधारण सभामा संस्थाको दिगोपनाको लागि पाँचथरबाट निरन्तर सहयोग गरेको भन्दै थापालाई संस्थाले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । साधारण सभाका प्रमुख अतिथि प्रदेश प्रमुख पशुराम खापुङले थापालाई प्रशंसा पत्र र खादा ओढाएर सम्मान गरेका हुन ।

 त्यस्तै सम्मानित हुनेमा रेडियो मेन्छ्यायेमका समाचार सहायक कृष्ण तामाङ, प्राविधिक जानुका नेपाल र रेडियोको संग्रालयमा ऐतिहासिक सामाग्री सहयोग गर्ने घनश्याम लिम्बू साथै प्रदेश प्रमुख माननीय पशुराम खापुङलाई संस्थाले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि खापुङले देशलाई सही दिसातर्फ अघि बढाउन आम सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकारले सञ्चार क्षेत्रको विकासको लागि निरन्तर रूपमा सहयोग गर्ने बताए । 

साधारण सभामार्फत संस्थाले आर्थिक वर्ष २०७७÷०७८ को २३ लाख ६४ हजार २ सय ६८ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । संस्थाले एक घर एक सेयरको नीति लिए अनुसार २०७८ सालसम्ममा ७ सय ६ सेयर सदस्यको सङ्ख्या पुगेको संस्थाका कोषाध्यक्ष दिपक कट्टेलले उल्लेख गरे ।