अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक भारतीय मजदुरको मृत्यु भएको छ ।
संखुवासभा चिचिला गाउँपालिका–३ सोलाखानीस्थित निर्मार्णाधीन आयोजनाको अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह बुधबार राती सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका थिए ।
उनको उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताएका छन् ।
मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको उनले जनाएका छन् ।
घटनाको सम्बन्धमा अनुसन्धानका लागि प्रहरी घटनास्थलमा खटिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । सुरूङ भित्र मजदुरलाइ सुरक्षा सामग्री प्रदान नगर्नाले जोखिमका काम गर्नुपर्ने भएकाले अत्याधिक दुर्घटना हुनेगरेको मजदुरहरूको भनाइ छ । आयोजनामा कार्यरत दर्जन मजदुरले ज्यान गुमाइसकेको बताइएको छ ।