धरान । कालो बंगुरले परिचित धरानमा अब भने ब्रान्डिङ गर्ने तयारी थालिएको छ ।

धरान उपमहानगरमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकले स्थानीयको जीवनस्तर उकास्नका लागि कालो बंगुरलाई ब्रान्डिङ गर्न लागिएको सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन पाने रक्सीलाई पनि सँगसँगै ब्रान्डिङ गर्ने तयारी थालिएको छ । यसका लागि नगरले धरानमा हाल उत्पादनको अवस्थालाई अध्ययन गर्ने भएको छ । 

धरानमा तीन पाने रक्सी विशेष गरी २० नम्बर वडामा बनाइन्छ । तर नगरले धरान ११, १६, १७, १८ र २० नम्बर वडामा अध्ययन गर्ने र तथ्यांक विश्लेषण गर्नका लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई जिम्मेवारी दिइएको छ । त्यसका लागि स्थानीयमा सचेतना जगाउने, रक्सी उत्पादनको विद्यमान अवस्थाबारे तथ्यांक संकलन गरिने सूचना अधिकृत खतिवडाले जनाए । 

रक्सीको अवस्थाबारे थप गृहकार्य गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग पनि समन्वय गरिने भएको छ । बैठकले हाल प्रचलनमा रहेको ऐन नियमको अध्ययन गरी तीनपाने रक्सी उत्पादन र व्यवस्थापन गर्ने बारेमा स्थानीय कानूनको मस्यौदा निर्माणका लागि नगरका कानूनी सल्लाहकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । 

नगर प्रमुखको नेतृत्वमा प्रदेश १ सामाजिक विकास मन्त्रालयमार्फत् मापदण्ड र कानून निर्माणका लागि पहल गरिने निर्णय गरिएको हो । तर, रक्सीको ब्रान्डिङ गर्ने नगर्ने विषय उद्योग मन्त्रालयअन्तर्गत पर्दछ । धरानका नगर प्रमुख तिलक राईले परम्परागत रूपमा उत्पादन गरिरहेका स्थानीयवासीलाई तीनपाने रक्सीका बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकियो भने आत्मनिर्भर बनाउन सकिने बताए । 

गतवर्ष केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्राध्यापक वसन्तकुमार राईको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फूलमाया तामाङ, सदर राई, मोहन तिगेला सदस्य रहेका थिए भने खगेन्द्र खतिवडा सदस्य सचिव रहेका थिए । कोरोनाका कारण कार्यदल गठन भए पनि बैठक बस्न सकेको थिएन ।