धरान । सुनसरीको चतरामा कुम्भ मेला लगाई चिनाउन भूमिका खेलेका जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यलाई चम्पादेवी सामाजिक सम्मान एवम् पुरस्कार प्रदान गरिएको छ । 

धरानमा कायस्थ गोपालप्रसाद सरला प्रतिष्ठानले बुधबार चतराका पीठाधीश देवाचार्यलाई ५१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो । त्यस्तै, प्रतिष्ठानले सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार अग्रज पत्रकार गोपाल देवानलाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि ४१ हजार रुपैयाँसहित प्रमाण पत्र रहेको छ । चम्पादेवी सामाजिक सम्मान प्राप्तपछि जगत्गुरु देवाचार्यले सनातनी धर्मको प्रचार गरे । उनले पुराणमै धरानको पिण्डेश्वर र सुनसरीको चतराको कुरा उल्लेख गरेको बताए । उनले पिण्डेश्वरमा शिवको र चतरामा विष्णुको महिमागान पुराणमै भएकाले त्यो वेदव्यासद्वारा नै लेखिएको बताए ।

‘तपाईंहरूलाई लाग्दो हो, यो कुनै पण्डितले लेखेको होला भनेर, त्यस्तो होइन, पुराणमै चतरा र धरानको महिमागान छ’ उनले भने । सम्मानितहरूलार्य प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले नगदसहित सम्मान पत्र प्रदान गरे ।

धरानमा बस्ती बसाउन कायस्थ परिवारका रत्नप्रसादको भूमिका रहेको बताइन्छ । उनकै नाममा पछिल्लो पाँच वर्षयता पुरस्कार वितरण गर्न थालिएको हो । धरान हुनुपूर्व विजयपुरमा मात्रै बस्ती रहेको थियो । त्यस्तै प्रतिष्ठानले सदन स्कुलमा कक्षा १० का उत्कृष्ट विद्यार्थी कविता चौलागाईलाई १० हजार रुपैयाँ र कौशिकी क्याम्पसमा विएड अध्ययरत संखुवासभाका दृष्टिविहीन विद्यार्थी मिङ्मा भोटेलाई १५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।

कार्यक्रममा धरान नगरका पूर्व प्रमुख मनोजकुमार मेन्याङ्बो, कुमारबहादुर कार्की, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुब्बा, प्रतिष्ठानकी संरक्षक सरला कायस्थलगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।