भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो । 

वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र सहरी विकास कार्यालयअन्तर्गत ६५ गरी १०८ विपन्न घरपरिवारले जस्तापाताको छानो पाएको कार्यालयले जनाएको छ । वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरूपता ल्याउनका लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

सुरुमा वडा कार्यालयले आफैँ बजेट विनियोजन गरेर कार्यक्रम थालेको भए पनि सरकारले नै फुसको छानो हटाउने अभियान सञ्चालन गरेपछि थप सहज भएको उनको भनाइ छ । 

आर्थिक अवस्था कमजोर भएका कारण वर्षौंदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको वडाध्यक्ष नेपालले बताए । वडा कार्यालयले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषिका क्षेत्रमा पनि योजनाबद्ध रूपमा काम गरिरहेको जनाइएको छ । 

स्थानीयवासी कृष्ण गिरीले भने, ‘वडाले वर्षौंदेखि फुसको चुहिने छानोमा बस्दै आएकालाई लक्षित गरेर जस्तापाताको छानो लगाइदिनु राम्रो काम हो ।’

वडाले थोरै बजेटमा स्थानीयवासीको औचित्य र आवश्यकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेकामा सन्तुष्ट रहेको स्थानीयवासी चिनीमायाँ भारतीले बताइन् । भारतीले भनिन्, ‘वडाले जनताको समस्या तथा आवश्यकताका आधारमा योजना सञ्चालन गरेको छ । कृषि उपजलाई सहज रूपमा बजारसम्म बिक्रीका लागि लैजान सकेका छौँ ।’

हालसम्म वडा नं ६ कोट, वडा नं ४ नागी र वडा नं ३ अन्नपूर्ण पूर्ण रूपमा फुसको छानोमुक्त भएका छन् भने वडा नं ५ खावा, वडा ७ कोट र ८ गोगनेमा पनि अभियान सञ्चालन भइरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।  

गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने, ‘हामीले जनताको आवश्यकताअनुसारका आयोजना सञ्चालनमा ल्याएका छौँ । तीनओटा वडा पूर्ण रूपमा फुसको छानोमुक्त भएका छन् । अन्य तीन वडामा पनि फुसको छानो हटाउने अभियान चलिरहेको छ । 

-रासस