विराटनगर/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर र मोरङ अदालत परिसरभित्र कानून व्यवसायीहरूले धर्ना दिएका छन् ।

उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनको आयोजनामा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले धर्ना दिएका हुन् ।

विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे । उनीहरूले बारको कार्यालयअगाडि भेला भएर दिउँसो ११ देखि १२ बजेसम्म अदालत परिसरभित्र प्रदर्शन गरेका हुन् ।

दुवै अदालतअगाडि गरिएको प्रदर्शनलाई उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेका थिए ।

प्रदर्शनको क्रममा ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लगायतका नारा लगाइएको थियो । उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव अधिवक्ता कला त्रितालले न्यायपालिकाको विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्ध अभियान स्वरूप धर्नामा बसेको बताइन् ।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनले बताइन् । कानून व्यवसायीमाथिको प्रहरी दमन र प्रधानन्यायाधीशको विकृति र विसङ्गति विरुद्ध तीन दिनसम्म लगातार एक–एक घण्टा विरोध प्रदर्शन गर्ने दुवै बार एसोसिएसनले कार्यक्रम तय गरेको सचिव प्रेमकुमार घिमिरेले जानकारी दिए ।