यासोक । प्राकृतिक प्रकोपका कारण देशकै सबै भन्दा बढी मानवीय क्षति पाँचथरमा भयो । गत कात्तिक १ देखि ३ गतेसम्म परेको बेमौसमी वर्षादको कारण मानवीय र भौतिक दुवै क्षति भोगेका नागरिकलाई स्थानीय तह र दाताहरूले राहत उपलब्ध गराउँदै आएका छन् ।

वर्षाको कारण पहिरोमा परी जिल्लाको फाल्गुनन्द गाउँपालिकाका ४ जनाले ज्यान गुमाएका थिए । गाउँपालिकाको ३ र ४ नं। वडाको ३ परिवारलाई जनसेवा समाज पाँचथरले राहत वितरण गरेको हो ।

समाजले फाल्गुनन्द गाउँपालिका ३ स्थित गुम्बा डाँडाका पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत वितरण गरेको छ । समाजले मृतकका परिवारलाई प्रति परिवार एक बोरा चामल सहित नुन, तेल, दाल र लत्ता कपडा लगायतका सामग्री वितरण गरेको छ ।

पीडित परिवारलाई धनकुटा घर भई हाल जर्मनीमा कार्यरत इन्जिनियर बालकृष्ण पौड्याल र सूर्योदय नगरपालिका—१३ इलाम स्थित डाउन हिल कन्स्ट्रक्सन डिजाइनका अध्यक्ष समेत रहेका सब इन्जिनियर बिपिन रेग्मीको १६ हजार ४ सय ५० रुपैयाँ बराबरको रकमबाट उक्त सामाग्री जनसेवा समाजले वितरण गरेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीेले बताए ।

राहत सामाग्री पालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, फाल्गुनन्द ३ का वडाध्यक्ष सुखवीर नेम्बाङ र ४ नं। वडाध्यक्ष मनबहादुर चेम्जोङले हस्तान्तरण गरेका थिए । यसै बिच मिक्लाजुङ गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई पनि गाउँपालिका र रेडक्रसले राहत वितरण सुरु गरेका छन् ।