धरान । सुनसरी इटहरीका दुई स्थानमा करेन्ट लाग्दा दुईजनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका १० का ४५ वर्षीय धनप्रसाद राईको मृत्यु भएको छ । त्यस्तै त्यस्तै धनकुटा पाख्रीवास नगरपालिका १० घर भई हाल इटहरी १७ मा बस्दै आएका १४ वर्षीय दगेन्द्र तिम्सिनाको पनि मृत्यु भएको हो । दगेन्द्र दिदीको घरमा बस्दै आएका थिए ।

शनिबार दिउँसो ३ बजेतिर घरको पिलरमा सिमेन्ट लगाउने क्रममा भाइब्रेसन मेसिनबाट राईलाई करेन्ट लागेको थियो । उनलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिए पनि पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । यता तिम्सिनाले भने घरनजिकैको नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते बनेका थिए । उनलाई पनि उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।