धरान ८ स्थित अटल पेट्रोल पम्प अगाडी बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् ।
बजार तर्फ जाँदै गरेको मे १ ख ३१९६ नम्बरको बसले सोही दिँसामा रहेको को १९ प ८३७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार चालक मोरङ केराबारी ४ का ४३ बर्षीय खगेन्द्र लिम्बू र उनका २ छोरीहरू ९ वर्षीया भरोसा र ७ वर्षीया खिसुङ घाइते भएका हुन् । घाइतेहरूको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र बसका चालक ठकेन्द्रबहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जनाएको छ । कार्यालय अनुसार बस र मोटरसाइकल एउटै दिशाबाट आइरहेको र मोटरसाइकल मोडिएर पम्पतिर जान खोज्दा बसले ठक्कर दिएको थियो ।
दुर्घटना घाइते भएका खगेन्द्र र भरोसाको अवस्था सामान्य भए पनि खिसुङको अवस्था भने गम्भीर रहेको छ ।