मधुमल्ला / नेपाली काङ्ग्रेस मिक्लाजुङले गत कात्तिक पहिलो साताको पहिरोबाट प्रभावित बनेका मिक्लाजुङ वडा नं. १ का १५ घरपरिवारलाई खाद्यान्न साहयोग उपलब्ध गराएको छ ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी पहिरो पीडित परिवारहरूलाई चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री उपलब्ध गराएको नेपाली काङ्ग्रेस मिक्लाजुङका सह–सचिव विमल कुँवरले बताए ।

मिक्लाजुङ गाउँपालिका वडा नं. १ खोला गाउँका १५ घर पहिरो पीडितलाई अवस्था हेरी ३ देखि ५ बोरासम्म चामल र नुन, तेललगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको र आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने नेपाली काङ्गे्रस मिक्लाजुङका सभापति बबीकुमार राईले बताए ।

दुर्गम गाउँका जनताको दुःखमा सकेको सहयोग गर्न नेपाली काङ्ग्रेस मिक्लाजुङ निरन्तर लागिपर्ने सभापति राईले बताए । दशैं, तिहारअगाडि नै सहयोग गर्ने योजना रहे पनि बाटोको केही असुविधा रहेकाले केही दिन ढिला भएको राईले बताए । उक्त खाद्यान्न सहयोग नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि, अर्जुन तुम्रोक र नेका मिक्लाजुङका सभापति बबीकुमार राईको विशेष सहयोगमा उपलब्ध गराएको नेका मिक्लाजुङका सचिव दीपक श्रेष्ठले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दल मिक्लाजुङ वडा नं. का ९ सभापति उदीप श्रेष्ठ, वडा सभापति दीपक राई, मिक्लाजुुङ उपसभापति भवानी राई, सभापति बबीकुमार राई, नेका क्षेत्रीय सचिव पर्वत राईलगायतको उपस्थिति रहेको थियो ।