प्रदेश १ मा पछिल्लो समय एकीकृत समाजवादी पार्टीको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएपछि प्रदेशको नामाकरणको विषय थप पेचिलो बनेको छ । सरकारका मन्त्रीहरु सार्वजनिक स्थलमा प्रदेशको नाम प्रस्ताव गर्दै अभिव्यक्ति दिइरहेका छन् । 

प्रदेश १ की सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फे(राई)ले १ नम्बर प्रदेशको नाम किरात लिम्बुवान हुनु पर्ने मत राखेकी छन् । 

१६ औ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्म जयन्ति समुद्घाटन तथा पूर्णकदको शालिक अनावरण कार्यक्रममा वराहक्षेत्रको नडाहा पुगेकी राज्यमन्त्री राईले प्रदेश १ को नाम किरात लिम्बुवान हुनुपर्ने बताइन् । 

उनले आफूले बारम्बार किरात लिम्बुवान प्रदेश हुनुपर्ने कुरा उठाइरहेको बताइन् । बराहक्षेत्रको नडाहस्थित किरातेश्वर हाङसाम युमा माङहिम प्राङ्गणमा किरात धर्म दर्शनका महान दार्शनिक समाज सुधारक एवम् राष्ट्रिय विभुति मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती आयोजना गरिएको छ ।

किरात धर्मगुरु आत्मनन्द लिङ्देनको विशेष उपस्थितिमा १३७ औ महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइएको हो । धर्मगुरु लिङ्देनले माङहिम परिसरमा निर्मित दुई भव्य मन्दिर ९माङ्हिम० उद्घाटन गरेका छन् । उनले माङहिम परिसरमा निर्माण गरिएको माहागुरु फाल्गुनन्दको पूर्णकदको शालिक समेत अनावरण गरेका छन् । 

झण्डै १ करोडको लागतमा निर्माण गरिएको मन्दिरका लागि हङकङ, बेलायतलगायतका भक्तजनले आर्थिक सङ्कलम गरिएको अध्यक्ष रनाहाङ लिम्बूले जानकारी दिए ।

स्थानीय रुपमा मन्दिर निर्माणमा बराहक्षेत्र ३ नम्बर वडा कार्यालयको ३ लाख, भीम आचार्य पर्यटनमन्त्री हुँदा २ लाख, क्याप्टेन नवीन थाङ्देनको स्मृतिमा श्रीमती बबिमायाले ८ लाख र जनश्रमदानबाट २ लाख सङ्कलन गरिएको निर्माण समिती अध्यक्ष बखतबहादुर लिम्बूले जानकारी दिए । 

२०४८ सालमा स्थापना भएको माङहिम क्षेत्रमा कच्ची रुपमा दुई मन्दिर निर्माण गरिएको थियो । मन्दिरहरु जीर्ण भएपछि पक्की संरचना निर्माण गरिएको हो । माङहिम परिसरमा कम्पाउण्ड वाल, प्रवेशद्वारसमेत भक्तजनले निर्माण गरेका छन् । 

माङहिम निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले कदरपत्रद्वारा सम्मान गरे ।