सुनसरी । इनरुवा नगरपालिका–१० स्थित जल्पापुरका समिद मन्सुरीको रोजीरोटीको माध्यम तरकारी खेती हो । बर्सेनि १० कठ्ठादेखि दुई बिघा क्षेत्रफल जग्गामा मौसमी र बेमौसमी तरकारी खेती गर्दै उनले आफ्नो परिवारको गुजारा चलाउने गर्छन् । तर, यो वर्ष बेमौसमी वर्षापछि आएको बाढीले मन्सुरीले डेढ बिघा जग्गामा लगाएको काउली खेती नष्ट भएपछि निराश मात्रै छैनन्, वर्षभरि के खाने भन्ने चिन्ता पनि थपिएको छ ।
लगातारको वर्षापछि आएको बाढीले लगाएको सबै काउली खेती नष्ट भएको छ किसान मन्सुरीले भने, ‘हाम्रो त आम्दानीको मुख्य स्रोत तरकारीबाली यसवर्ष बाढीले सबै सखाप भयो । दुई हप्ताअघि आएको बेमौसमी वर्षाले खेतमा पानी जमेको र पानी सुकेसँगै काउलीसमेत सुक्न थालेको हो ।’ हरिनगर गाउँपालिका–४ सत्यनारायण मेहताले तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका थिए । डेढबिघा जग्गामा वर्षभरि विभिन्न तरकारी खेती गरी उनले खर्च कटाएर वार्षिक ४ देखि ६ लाख आम्दानी गर्ने गर्थे । यसपटक भने तरकारी बारीमै नष्ट भएपछि मेहताको ओठमुख सुकेको छ ।
‘एकबिघामा काउली खेती र बाँकीमा साग, बोडी लगाएको थिएँ, बाढीले सबै नष्ट भयो’–मेहताले भने । मेहता र मन्सुरी प्रतिनिधिपात्र मात्र हुन् उनीहरू जस्ता ग्रामीणभेगमा बिना अनुदान तरकारी खेती गरेर परिवारको जीविकोपार्जन गर्ने सयौं किसानले लगाएको तरकारी खेती नष्ट भएपछि चिन्तित बनेका छन् । आफूले वर्षौंदेखि तरकारी खेती गरेरै परिवारको गुजारा चलाउँदै आएको बताउने मन्सुरीले भने, ‘बाढीले बास त उठाएन तर, हाम्रो गाँस खोस्यो । मल, बिउ मात्र होइन, लगानी पनि खेर गयो, अब हामीले के गर्ने ? के खाने, कहाँ जाने ? हाम्रो समस्या कसले बुझ्ने ?’
बाढीले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका क्षेत्रमा किसानले लगाएको काउली खेतीका साथै लहरे बालीमासमेत ठूलो क्षति पुगेको छ । मौसमअनुकूल भएको भए हामी दसैंअगाडि नै काउलीसहितका तरकारी बेच्थे, हरिनगर गाउँपालिका–२ स्थित रामनगर भुटाहाका किसान अमजद अन्सारीले भने । तर, यसपटक पानी लगातार परेपछि खेतमा लगाएको काउली, सागसब्जीलगायतका बिरुवा सखाप भयो । ‘कोरोना सुरुभएदेखि किसानलाई समस्यै समस्या छ, अघिल्लो वर्ष उत्पादित तरकारी सस्तोमा बेच्नुप¥यो, यो वर्ष फेरि बाढीले सबै नष्ट भएको छ’ उनले भने, ‘लगानी सबै खेर गयो ।’ दसैंका बेला लगाएको काउली बेच्दा कम्तीमा २ देखि ३ लाख रुपैयाँ आम्दानी हुने अन्सारीको विश्वास थियो । जिल्लाका दक्षिणवर्ती भेगका किसानहरूले धानबालीसँगै काउली, ब्रोकाउली, परवल, खुर्सानी, टमाटर, काँक्रा, मुला, भण्टालगायतका तरकारी खेती गर्ने गरेका छन् ।
क्षतिको यकिन विवरण संलग्नकै क्रममा रहेको बताउँदै कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले लगातारको वर्षापछि आएको बाढीले जिल्लाका दक्षिणवर्ती क्षेत्रमा किसानले लगाएको तरकारी खेती बढी नष्ट भएको बताए । सुनसरीमा जम्मा ७९ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएकोमा बाढीले ५ सय ७६ दशमलव ०२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । ‘जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरेर स्थलगत अनुगमन गर्दा हरिनगर, देवानगञ्ज, भोक्राहा गाउँपालिका र इनरुवा नगरपालिकाको केही वडामा बढी क्षति भएको पाइयो’ प्रमुख उराँवले भने, ‘ती क्षेत्रहरूमा लगाइएको ९५ प्रतिशत तरकारी बाली बाढीले नष्ट भएको छ ।’
सरकारले क्षतिपूर्ति दिने सम्बन्धमा गरेको निर्णय समाचारबाट जानकारी पाइए पनि आधिकारिक रूपमा अझै जानकारी नआएको उनको भनाइ छ । ‘किसानमाथि परेको पीडाले मर्माहत भएको छु’ उनले भने, ‘स्थानीय तहहरूले बाढीले गरेको नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराउन तथ्याङ्क सङ्कलनसमेत गरिरहेका छन्, आशा छ किसानले केही न केही राहत पाउनेछन् ।’