इनरुवा । सुनसरी मोरङ सिचाई आयोजना अन्तर्गत सितागञ्ज मूल तथा शाखा नहरको विषयमा थालिएको आन्दोलनलाई जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले बेतुकको फण्डाबाजी बताएका छन् ।
दुहबीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले संस्थागत धारणा सार्वजनिक गर्दै आफुहरुमाथि लगाइएको आरोपलाई निराधार र तथ्यहीन बताएका हुन् ।
संर्घष समितिका अध्यक्ष सुभालाल यादवले उठाएका विषयलाई जल उपभोक्ता संस्थाका अध्यक्ष तपन दासले वेतुकको फण्डाबाजी भएको बताए ।
दासले आफुहरुमाथि लगाइएको सबै आरोप प्रतिवाद गर्न तयार रहेकोसमेत बताए । उनले आफुहरु कानुनी रुपमा प्रकृया संगत चलेको दाबी गरे ।
अध्यक्ष दासले असन्तुष्टिका विषयमा वार्ताका माध्यमबाट समाधान खोज्न सकिने भएपनि यादव नेतृत्वको संर्घष समिति भने बखेडाबाजी गरेर आफुहरुको बदनाम गराउने प्रपञ्चमा जुटेको बताए ।
आफुहरु नियम संगत चले नचलेको भन्ने विषय जिम्मेबार निकाय सुनसरी मोरङ सिचाई आयोजनाले निर्क्योल गर्ने भएकाले असन्तुष्ट पक्षलाई कानुनी बाटो रोज्न दासले पत्रकार सम्मेलनमार्फत् सुझावसमेत दिएका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औरावनी २ का पदाधिकारीहरुले विगतमा समिति भित्रै रहेका व्यक्तिले अहिले आएर विरुद्धमा आन्दोलन थाल्नुलाई स्वार्थ केन्द्रीत राजनितीको संज्ञा दिएका छन् ।
झुटा आरोप लगाएर अनायासै तालाबन्दी र आन्दोलनमा उत्रनुलाई उनीहरुले कानुन विपरित भएको ठहर गरेका छन्। जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले आफुहरु कानुनी आधारमा बलियो रहेको दावी पेश गर्दै संघर्ष समितिले उठाएका विषय प्रतिवाद गर्न तयार रहेको बताएका छन् । यावत विषयमा उनीहरुले प्रहरी–प्रशासन र आयोजना कार्यालय मार्फत कानुनी बाटो खोज्ने बताए ।
उता सितागञ्ज उपभोक्ता संघर्ष समितिले भने विगत लामो समययता शाखामा तपन दासको एकल नेतृत्व हाबी रहेको बताएको छ । उसले दासमाथि आर्थिक हिनामिना र किसान हीत विपरित काम गरेको आरोप लगाएको छ ।
संघर्ष समितिले नयाँ नेतृत्व चयन हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको बताउँदै आएको छ । उक्त समिति एक महिनायता संघर्षरत रहेको छ ।