धरान । किरात देवान समाज केन्द्रीय कार्यसमितिले दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । 

बिहीबार होटल पूर्वीस्टारमा शुभकामना आदानप्रदान गर्दै हालै प्रकाशित देवान जातिको व्याकरण र शब्द कोशको ग्रन्थ पत्रकारहरूलाई प्रदान गरिएको छ । ग्रन्थको सम्पादन प्रा.डा. टङ्कप्रसाद न्यौपानेले गरेका छन् भने लेखकका रूपमा गोपीकृष्ण खतिवडा, जङ्ग देवान र होम देवानले लेखेका हुन् । 

लेखक जङ्गले करिब १८ हजार शब्दलाई ग्रन्थमा समावेश गर्न सकेको बताए । यस पुस्तकमा देवान जाति, संस्कार र भाषालाई समेटिएको छ । जसमा व्याकरण र शब्दभण्डार रहेका छन् । देवान जातिको थातथलोदेखि लिएर अन्य जातिसँगको सहसम्बन्धलाई केलाइएको छ । ग्रन्थ दुई दिनअगि मात्रै विमोचन गरिएको थियो । 

ग्रन्थ तयार गर्नका लागि लामो समय लागेको लेखक जङ्ग देवानले बताए । उनले याक्खा र देवान फरक फरक जाति भएको दाबी पनि गरे तर धेरैको बुझाइ याक्खा र देवान एउटै जाति समूहमा रहेको भए पनि यसको भाषा र शब्दहरू पनि फरक फरक रहेको बताए । 

उनले पत्रकारहरूलाई पुस्तकको अंश अध्ययन गरेर लेखिदिन आग्रह गरे । आवरण परिकल्पनाकार मनिसुन्दर खत्री दाहालले सञ्चालन गरेको कार्यक्रममा अर्का लेखक होम देवानलगायतले शुभकामना दिएका थिए ।