भद्रपुर । तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपालमा प्रतिबन्धित बारुदजन्य(पटका) सशस्त्र र नेपाल प्रहरीले बरामद गरी नष्ट गरेको छ । भारतबाट खरिद गरी झापाका विभिन्न नाकाबाट विभिन्न मितिमा तस्करी गरी नेपाल भित्र्याइएका पटका बुधबार सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको हो ।
खुला सीमा नाकाबाट प्रतिबन्धित विभिन्न नाम गरेका पटका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजार क्षेत्रमा चेक जाँचका लागि खटिएका प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका प्रवक्ता प्रेम बहादुर भण्डारीले जनाए । अनुमानित ८ लाख २० हजार ५ सय मूल्य बराबरको पटका बरामद गरी नष्ट गरिएको उनले जानकारी दिए ।
त्यसै गरी जिल्ला प्रहरीले अन्दाजी साढे ३ लाख रुपैयाँ मूल्य बराबरको पटका नष्ट गरिएको जनाएको छ । जनप्रतिनिधि, स्थानीय पत्रकार, उद्योग वाणिज्य सङ्घ लगायतको रोहवरमा पटकालाई पूर्ण रूपमा नष्ट गरिएको जिल्लाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
विगत वर्षभन्दा यो वर्ष पटका थोरै मात्रामा भित्रिएको उनले जनाए । कोरोना भाइरस र भारतको बङ्गाल सरकारले पटका बिक्री वितरणमा पूर्ण रोक लगाएका कारण पनि यो परिमाण घटेको हुनसक्ने उनको भनाइ छ ।