सुनसरी । नेपाल–भारत सिमानामा रहेका २३ वटा सीमा स्तम्भ गायब भएका छन् । सीमा क्षेत्रमा २ सय ९० वटा सीमा स्तम्भ हुनुपर्नेमा हाल २३ वटा हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले कागजी तथ्याङ्कमा २३ वटामात्र सीमा स्तम्भ हराएको बताए पनि लामो समयदेखि खोजी कार्य नभएकाले त्योभन्दा धेरै हराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हराएका बाहेक अरू सुरक्षित रूपमा रहेको भनिएका सीमा स्तम्भसमेत धेरैजसो मर्मतसम्भार नहुँदा जीर्ण बनेका छन् । जीर्ण सीमा स्तम्भ मर्मतमा सम्बन्धित निकायले उदासीनता देखाउँदै आएको छ ।
सिमानामा रहेका जङ्गे पिलर कुनै भत्केको वा जीर्ण भएको तथा कुनै बालुवाले पुरिएको अवस्थामा छन् । सिमानामा रहेका सीमा स्तम्भ जीर्ण अवस्थामा रहेको हुँदा स्पष्ट रूपमा लेखिएको देख्न सकिने अवस्था छैन ।
प्रत्येक वर्ष पानीको सतह बढ्दा हराउने र हिउँदमा देखापर्ने खोलाको बीच भागमा रहेको मुख्य र सहायक सीमा स्तम्भको मर्मतसम्भार भएको पाइँदैन । नेपाल भएर बग्ने सप्तकोसी नदीको पानीले कतिपय मुख्य र सहायक सीमा स्तम्भ हराइरहेका छन् भने थप स्तम्भ बगाउने वा हराउने जोखिम बढेको छ ।
सीमा स्तम्भ जोगाउन सरकार उदासीन बन्दा दिन प्रतिदिन सीमा स्तम्भ जीर्ण बन्दै गएको स्थानीय बताउँछन् । ‘खोलाको बीच भागमा सीमा स्तम्भहरू छन्, बर्सेनि आउने बाढीले जीर्ण बनेका छन्, कहिलेकाहीँ सीमा स्तम्भको अवस्थाका बारेमा निरीक्षण गरिए पनि मर्मतसम्भार भएको छैन’–स्थानीय दिलजान अलीले भने ।
जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा सीमा निर्धारणपछि गाडिएको स्तम्भ पुस्तौं बितिसक्दासमेत मर्मतसम्भार नहुँदा जीर्ण बनेका हुन् । विभिन्न समयमा सीमा स्तम्भ मर्मत गर्ने नेपाल–भारतबीच सहमति भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
नेपाल सरकारले सीमा सुरक्षाका लागि स्थापना गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनशक्ति अभावको कारण देखाउँदै सीमा सुरक्षा कार्यसमेत गर्न समस्या पर्ने गरेको जनाउँदै आएको छ ।
जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले पटक–पटक सिमानामा रहेका सीमा स्तम्भ मर्मतसम्भार गर्न कूटनीतिक पहल गर्न नेपाल सरकार समक्ष सिफारिस गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन ।
भारतसँग सीमा जोडिएको कोसी गाउँपालिका–८ स्थित भण्टाबारी क्षेत्रमा ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा २६ वटामात्र सुरक्षित छन् र २३ सीमा स्तम्भ अझै हराइरहेका छन् । यद्यपि सीमामा खटिएका सशस्त्र प्रहरीले सीमा स्तम्भ हराएको नभई बालुवामा नदेखिने गरी सीमा स्तम्भ पुरिएको बताएको छ ।
सप्तकोसी नदीमा पानीको बहाव बढेर आउँदा सीमा स्तम्भ बालुवामा पुरिएको बताउँदै सीमा स्तम्भको बारेमा धेरै समयदेखि खोजी नभएकाले दुई देश छुट्याउने सीमा स्तम्भ जीर्ण बनेको स्थानीय लखनकुमार यादवले बताए ।
बर्सेनि आउने बाढीमा सीमा स्तम्भ हराउने गरेको बताउँदै उनले निकै पुरानो भइसकेका कारण सीमा स्तम्भ मर्मतसम्भार गर्नुपर्ने बताउँछन् । बाढी पहिरोमा सीमा स्तम्भ हराउँदा छिमेकीले अतिक्रमण गर्नसक्ने जोखिम रहेकाले नयाँ सीमा स्तम्भ निर्माण वा मर्मतसम्भार गर्नुपर्ने स्थानीयको माग छ ।
जिम्मेवारी सम्हाल्न आफू आएको केही समय मात्र भएकाले केही स्थानका सीमा स्तम्भको स्थलगत निरीक्षण गरे पनि सबै क्षेत्रमा जान नभ्याएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
‘मेरो जानकारीअनुसार सुनसरीमा मुख्य, सहायकलगायत चार प्रकारका गरी जम्मा २ सय ९० वटा सीमा स्तम्भ छन्’ उनले भने, ‘तीमध्ये चारवटा मुख्य सीमा स्तम्भ हराइरहेका छन् । १० वटा बनाउनुपर्ने भनी जानकारी पाएको छु ।’
भण्टाबारी र लौकही क्षेत्रका सीमा स्तम्भ निरीक्षण गर्दा केही बालुवाले पुरिएको अवस्थामा रहेकोे पाइएको प्रजिअ यादवले बताए । बाँकी क्षेत्रको पनि केही दिनमै निरीक्षण गर्ने योजना रहेको उनको भनाइ छ ।
सीमामा २४ सै घण्टा सुरक्षाकर्मी सीमा सुरक्षा गर्न कटिबद्ध रहेको बताउँदै उनले नयाँ बनाउने वा पुरानोलाई मर्मतसम्भार गर्ने अधिकार नापी विभागसँग भएकाले माथिल्लो निकायमा सीमा स्तम्भको अवस्थाबारे रिपोर्टिङ गर्नुबाहेक अरू विकल्प नभएको बताए ।