धरान । धरान नगर स्काउट समिति सुनसरीले दीपावलीको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार होटल रत्न इनमा सम्पन्न कार्यक्रममा धरान नगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले धरानका हरेक स्कुलमा स्काउट सुरु गर्ने नीति लिएको बताइन् । उनले त्यसका लागि बजेट पनि विनियोजन गरेको बताइन् ।
उनले भनिन्, ‘बच्चाहरूलाई सानैदेखि इन्गेजमेण्ट गर्न सकियो भने बच्चा बिग्रिने वातावरण बन्दैन, बच्चा बिग्रिने वातावरणले हो । वातावरण बनाइदिने हो भने बच्चाहरू सामाजिक काममा अग्रसर हुन्छन् ।’
कार्यक्रममा पुराना स्काउटर मुगाधन राईले स्काउटलाई पाठ्यक्रममै समावेश गरिनुपर्ने बताए । बच्चाहरूलाई नैतिक र सामाजिक बनाउनका लागि पनि स्काउट अपरिहार्य रहेको बताए ।
नगरको कार्यक्रममा वराहक्षेत्र, दुहबी, रामधुनी नगरपालिका, बर्जु गाउँपालिका र इटहरी उपमहानगरपालिकाका प्रतिनिधिहरू पनि सहभागी रहेका थिए । उनीहरूलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रम सञ्चालक एवम् प्रदेश सदस्य हेमन्त भण्डारीले जानकारी दिए ।
नगर संयोजक अनुप योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश संयोजक रवि खनाल, पूर्व स्काउटर निर्मला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।