बिर्तामोड । तिहार नजिकिएसँगै बिर्तामोड नगरपालिकाको सहयोगमा बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोडमा सरसफाइ कार्यक्रम गरेको छ ।
सङ्घको आह्वानमा सोमबार गरिएको सरसफाइ कार्यक्रममा वाणिज्य सङ्घका पदाधिकारी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरू सहभागी रहेका थिए ।
सरसफाइ अभियानको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले नगरलाई स्वच्छ र सुन्दर बनाउन आफैबाट परिवर्तन गर्न जरुरी रहेको बताए । उनले जथाभावी फोहोर फाल्नाले सहरको सुन्दरतामा कमी आउने भन्दै सरसफाइ अभियान सञ्चालन गरेको बताए ।
नगरलाई सफा र सुन्दर बनाउन नगरपालिकासँगको समन्वयमा बिर्तामोड क्षेत्रको सरसफाइ गरिएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका प्रवक्ता सञ्जीव घिमिरेले जानकारी दिए । बिर्तामोडबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्न तथा बजार क्षेत्रलाई सधैँ सफा राख्न पनि वाणिज्य सङ्घले सबैमा आग्रह गरेको छ ।
बिर्तामोडमा डम्पिङ साइटको व्यवस्था नहुँदा वर्षौंदेखि फोहोरको समस्या झेल्दै आउनुपरेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । उनले नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान दिनुका साथै जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्नुपर्ने बताए ।
जथाभावी फोहोर फ्याल्दा बिर्तामोड दुर्गन्धित बन्ने गरेको छ । सरसफाइ अभियान सञ्चालन गरेर नागरिक तथा व्यवसायीलाई जथाभावी फोहोर नफाल्न आग्रह गरेको जनाइएको छ । कार्यक्रमको सञ्चालन वाणिज्य सङ्घका महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए ।