बिर्तामोड । झापाको बिर्तामोड–१ मा हँसियाले पेटमा काटेर सख्त घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
झापा हल्दिबारी–४ जलथलका अन्दाजी ३८ वर्षीय राजेन्द्र उप्रेतीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी सन्तोष आचार्यले बताए ।
मानसिक रोगको शिकार रहेका उप्रेतीले मदिरा सेवन गरेर आफन्तसँग झगडा गरेका थिए । गफ गर्ने क्रममा धारिलो हँसियाले भाइ प्रेम उप्रेती र दिदी पवित्रा प्रसाईंमाथि आक्रमण गरेका थिए ।
उनीहरूलाई आक्रमण गरेर हँसिया हातमा लिएर बाहिर निस्केका उप्रेतीलाई आफ्नै पेट काटेर सख्त घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उप्रेतीको पेटमा हँसियाले काटेर आन्द्रा बाहिर निस्केको अवस्थामा फेला परेको आचार्यले बताए । गम्भीर घाइते अवस्थामा भेटिएका उप्रेतीलाई उपचारका लागि तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको आचार्यले बताए ।