भद्रपुर । नेपालसँग सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका सञ्चालनमा आए लगत्तै भारतीय नम्बर प्लेटका सवारी साधन धमाधम पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न थालेका छन् ।
काँकडभिट्टासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गालको पानीट्याँङकी स्थित रानीगञ्ज नाका सञ्चालनमा आउन नसक्दा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन पाएका थिएनन् । शुक्रबारबाट नाका सञ्चालन भए लगत्तै भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाकाले जनाएको छ ।
भारतीय नम्बर प्लेटका सवारी साधनले अस्थायी भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्न सक्ने कानुनी व्यवस्था रहेपनि रानीगञ्ज नाका सञ्चालनमा नआउँदा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन पाएका थिएनन ।
नेपाल सरकारले भारतसँग सीमा जोडिएका सबै नाका खोल्ने यसअघि नै निर्णय गरेको भएपनि भारततर्फको नाका सञ्चालनमा नआउँदा काँकडभिट्टा नाकाबाट यो सुविधा अहिलेसम्म कसैले लिएका थिएनन् । कोभिड १९ को सङ्क्रमणसँगै डेढवर्ष अघिदेखि बन्द रहेको भारतीय सवारी साधनको भन्सार ०७८ असोज १८ गतेबाट खुला गरेको थियो । नाका सञ्चालनमा आएपछि आइतबार मध्यान्ह्सम्म २ सय ९६ वटा सवारी साधन नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । उनका अनुसार शुक्रबार ९१, शनिबार १सय ९ र आइतबार मध्यान्ह्सम्म ९६ वटा सवारी साधन नेपाल प्रवेश गरेको बताए ।
कोरोना भाइरसको दुवै खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र नागरिकता सहित भारतीय सवारी साधनमा नेपाल प्रवेश गर्ने यात्रुले भन्सार महशुल बुझाउनु भन्दा अघि यात्रु शाखाबाट इन्टरनेश्नल ट्राभलर अनलाइन एराइभल फारम समेत भर्नुपर्ने उनले जनाए ।
भारतीय एसएसबीले भने कोरोना भाइरसको दुवै खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्ने अनुमति दिएको छ ।
यता भद्रपुर नाकाबाट भने भारतीय नम्बर प्लेटका सवारी साधनले अस्थायी भन्सार महसुल बुझाउन एउटा पनि सवारी साधन नआएको भद्रपुर भन्सार प्रमुख प्रमोद पौडेलले बताए । सवै तयारी भएपनि भारतबाट सवारी साधन नेपाल प्रवेश नगरेको उनको भनाइ छ ।
यात्रुहरुकोआवत जावत भएपनि अस्थायी सवारी साधन सोमबारबाट सञ्चालन हुन सक्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरका प्रमुख विभुराज दाहालले बताए ।
भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेपछि चौबीस घण्टाको ५ सय रुपैयाँ राजस्व बुझाएर अस्थायी पैठारी लिएपछि निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशव ओलीले बताए । भारतीय सवारी साधनले नेपाल प्रवेश पाए पछि नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको उनले जनाए ।
कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल र भारत सरकारले दुवैतर्फबाट नाका बन्द गर्दा नेपालसँग सीमा जोडिएको भारतीय नाका पानीट्याँङकी हुदैँ कुनै पनि सवारी साधन नेपालको काँकडभिट्टा नाका भएर भित्रिन नपाएको उनले जनाए ।
पश्चिम बङ्गाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँङ्की स्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्र्ने भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।