विराटनगर । बेमौसमी झरीको कारण बाढी पहिरामा फसेकाहरूको उद्धारको लागि प्रदेश १ मा ५ हजार ९५ जना प्रहरी जनशक्ति परिचालन भएका छन् । दुई दिनयतादेखि लगातार परेको वर्षाको कारण बाढी र पहिरोमा परि प्रदेश १ मा ठुलो सङ्ख्यामा जनधनको क्षति भएपछि प्रदेश प्रहरीले उद्धारको लागि पाँच हजार भन्दा बढी प्रहरी परिचालन गरेको हो । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीका अनुसार बाढी पहिरोको कारण भत्किएका भौतिक संरचनाको उद्धार, अवरुद्ध सडक खुलाउने र बेपत्ता नागरिकको खोजतलासमा प्रहरी परिचालन गरिएको जानकारी दिए । कतिपय जिल्लामा अझै वर्षा भइरहेको कारण हुन सक्ने जोखिम न्यूनीकरणको लागि पनि प्रहरीको उद्धार टोलीहरू तयारी अवस्थामा राखिएको उनले बताए । उद्धारमा तालिम प्राप्त प्रहरी जनशक्ति खटिएको उनले बताए । 

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय निकायबिचको समन्वयमा काम भइरहेको छ । 

डुबान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई विस्थापित भएका मानिसहरूलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य समेत भइरहेको उनले बताए । 

प्रदेश १ मा बाढी पहिरामा परेर ६२ जनाको मृत्यु भएको छ भने २० जना घाइते र १३ जना बेपता भएका छन्  । सयौँ घर डुबानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ । 

पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु , १० जना घाइते र ६ जना बेपत्ता भएका हुन् ।

यसै गरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते तथा १ जना बेपत्ता भएका छन् ।

यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्  ।  सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

यसै गरी मोरङको विराटनगर महानगरपालिकामा १ जनाको मृत्यु भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १ र १ जनाको मृत्यु भएको छ । बेमौसमी झरीका कारण सयौँ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।