धनकुटा । सोमबारदेखिको लगातार वर्षाका कारण धनकुटाको लेउती खोलामा आएको बाढीले बगाएको कोशी लोकमार्गअन्तर्गत घण्टेको सडक २२ घण्टापछि जोडिएको छ ।
अस्थायी रूपमा जोडिएको हो । वर्षाका कारण आएको बाढीले अन्दाजी २ सय मिटर सडक बगाएको थियो । जसका कारण यातायात पूर्ण रूपमा ठप्प बन्दा धरान र धनकुटाको सम्बन्ध टुटेको थियो ।
सडक डिभिजन, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपाली सेनाको सक्रियतामा बुधबारको १ बजेर ३० मिनेटबाट अस्थायी रूपमा बाटो सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार तत्काल अस्थायी रूपमा मात्रै बाटो सञ्चालनमा ल्याइएको हो । बाटो अवरुद्ध हुँदा धरानको जिरोपोइन्टसम्म गाडी लाम लागेको थियो । साँगुरीगढी गाउँपालिका–६ को फेदीनजिकै घण्टेमा सडक बगाएको थियो ।