इनरुवा । सुनसरीमा बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । बेपत्ता भएका दुईको शव फेला परेसँगै सुनसरीमा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको हो ।
प्रहरीका अनुसार बेपत्ता भएका भोक्राहाका कमलर मण्डल र इटहरीका योगेन्द्र तिवारीको बाढीले बगाएको अवस्थामा शव फेला परेको छ । सुनसरी प्रहरीका अनुसार ४ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा सबै इटहरीका रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी इटहरी क्षेत्रका घरहरू डुबानमा परेका छन् । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार जिल्लाभरका डुबान पीडितलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरीका अनुसार बाढीका कारण अधिकांश क्षेत्रमा घर डुबेका छन् । डुबानमा परे पनि कतिपयले भने घर नछाडेको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीले कार्यालयमा प्राप्त विवरणका आधारमा दिएको जानकारी अनुसार जिल्लाभर ७ सय ५० घरधुरी विस्थापित हुँदा ३ हजार बढी प्रभावित बनेका छन् ।
सुनसरी प्रहरीका अनुसार बाढीका कारण जिल्ला भित्रका चार स्थानका सडक अझै अवरुद्ध छन् । प्रहरीका अनुसार चतरा– बराहक्षेत्र खण्ड पहिरोका कारण अवरुद्ध छ । त्यसै गरी सितागञ्ज –देवानगञ्ज, इनरुवा–दुहवी र गौतमपुर सडक खण्ड बाढीको पानीका कारण अवरुद्ध रहेको छ ।