विजयपुर । हिन्दु धर्मावलम्बीहरूको चाड दशंै भित्रिएसँगै प्रायः बजार पसलहरूमा भीडभाड देखिए पनि व्यापार अपेक्षाकृत नभएको व्यापारीले बताएका छन् ।
अन्य बेलाभन्दा दशैं प्रायः व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन् तर, यसपटक विगतका वर्षमा जस्तो व्यापार नभएको उनले बताए । धरान–३ स्थित पञ्चमुखी स्टोरका सञ्चालक गोपाल अग्रवालले दशैं लागेसँगै केही मात्रामा व्यापार वृद्धि भए पनि विगतको जस्तो नभएको बताए । उनी भन्छन्, ‘गत वर्षदेखि बाहेक विगतका वर्षहरूको तुलनामा व्यापार छँदै छैन ।’
धरान–३ स्थित फारुक स्टोरका प्रबन्ध निर्देशक उमर फारुक पनि पहिलेभन्दा व्यापार केही मात्रामा वृद्धि भएको बताउँछन् । ‘पहिलेजस्तो त छैन, सामान्य अवस्थामा भन्दा केही वृद्धि भएको छ’ उनी भन्छन्, ‘चाड नआउँदा दैनिक १५ देखि २० हजार रुपैयाँको बिक्री हुन्थ्यो, अहिले ५० प्रतिशत वृद्धि भएको छ ।’ त्यस्तै माछाभौडीका वल्र्ड कलेक्सन रेडिमेड कपडा पसलका सञ्चालक अमरजीत साह पनि व्यापारमा ५० प्रतिशत वृद्धि भएको बताउँछन् ।
धरान–२ देशीलाइन बजार व्यवस्थापन समितिका अध्यक्ष तथा ए.एन. फुटवेयरका सञ्चालक गङ्गाप्रसाद राई व्यापार निराशाजनक रहेको बताउँछन् । उनी दशैं सुरु भएपछि भीडभाड बढेको छ तर, पहिलेजस्तो व्यापार नभएको बताउँछन् । उनी भन्छन्, ‘दशैंको समयमा हालको व्यापारलाई बढेको भन्न मिल्दैन, पहिले फुर्सद हुँदैनथ्यो, अहिले ग्राहक पर्खेर बस्नुपर्छ ।’ धरान–२ का रोशन शु सेण्टरका सञ्चालक श्याम साह भने व्यापार ठीकै भएको बताउँछन् ।
घण्टाघर पछाडिका राधा फेन्सी पसलकी सञ्चालक राधिका मगर पनि पहिलेको तुलनामा कम व्यापार भएको बताउँछिन् । धरान–१२ स्थित शिव एण्ड ब्रदर्श कपडा पसलका सञ्चालक कृष्ण श्रेष्ठ व्यापार निराशाजनक भएको बताउँछन् । उनी कोरोनाका कारणले उपभोक्ताको आयस्रोत घटेको, त्रासले बाहिरका उपभोक्ता नआउने र वैदेशिक रोजगारमा गएका मानिसहरू कम आउनाले पनि व्यापारमा गिरावट आएको बताउँछन् ।
बालाजी कपडा पसलका सञ्चालक सुरेशकुमार अग्रवाल अपेक्षाकृत व्यापार नभएको बताउँछन् । उनी भन्छन्, ‘पहिलेभन्दा ३०–४० प्रतिशत कम मात्रै व्यापार हुँदैछ, व्यापार नभएपछि नयाँ सामान पनि ल्याउन सकिएन ।’ उनी राई, लिम्बू समुदायले दशैँ मान्न छोड्दै गएका कारणले पनि व्यापारमा वृद्धि नभएको बताउँछन् ।
धरान–९ का स्टोङ स्टोर रेडिमेड कपडा पसलका सञ्चालक मिलन श्रेष्ठ उपभोक्तामा लकडाउनको प्रभाव हालसम्म पनि परेको बताउँछन् । उनी भन्छन्, ‘विदेशतिरबाट आउन पाएका छैनन्, कोरोनाकै कारणले नाका बन्द हुँदा सामान ल्याउन पाइएको छैन, जसले गर्दा व्यापार राम्रो भएको छैन ।’
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा दशैँमा सामान्य व्यापार वृद्धि भए तापनि कोभिड हुनुभन्दा पहिलेजस्तो ठूलो व्यापार नभएको बताउँछन् । उपभोक्ताको आयस्रोत नभएकाले उपभोगमा पनि गिरावट भएको उनको बुझाइ छ । उनले धरानमा दैनिक २५ करोडको व्यापार हुने गरेको बताउँदै अहिले दशैंको बेला दैनिक सात–आठ करोडको मात्रै व्यापार हुने गरेको बताए ।
अर्थ व्यापारबारे जानकार कृष्ण अग्रवाल एक महिना पहिलेभन्दा दशैंमा व्यापार बढेको बताउँछन् । उनी विगतका दशैंको जस्तो विशेष व्यापार भने नभएको बताउँछन् । उनले भने, ‘कोरोना त्रासले आकस्मिक पैसा आवश्यक पर्छ कि भनेर कमाएको पैसा सबै खर्च गर्न चाहँदैनन् ।’
उपभोक्ताले अति आवश्यक वस्तु मात्रै खरिद गर्ने उनको भनाइ छ । दशैंमा अपेक्षाकृत व्यापार नहुनुमा उपभोक्ता भारतीय बजार जानु, भीडभाडमा कोरोनोको जोखिम हुने भएकाले उपभोक्ताले स्थानीय बजार पसलमा वस्तु खरिद गर्नु रहेको बताउँछन् । उनले चीनबाट कन्टेनर आउन नपाउँदा पनि समस्या भएको बताए । उनले भने, ‘अहिले सामान लोड भएको १२ सय कन्टेनर चाइनाको नाकामा थन्किएका छन्, त्यसको असर पूर्वका सबै स्थानमा परेको छ ।’
चीन सरकारले दैनिक ५ देखि १० वटासम्म मात्रै कन्टेनर आउन दिने भएकाले सामान आउन नसकेको उनले बताए । सरकारले प्रभावकारी पहल नगर्दा समस्या भएको उनको बुझाइ छ । अग्रवालले भने, ‘नर्मल व्यापार घटेको छैन, दशैंमा नर्मलभन्दा ३ गुणा जति वृद्धि हुनुपर्ने हो तर, ५० प्रतिशतले मात्रै वृद्धि भएको छ ।’