सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी– १० मा समस्यामा परेका बालिकाहरूको लागि बाल हेल्पलाइन १०९८ ले सहयोग गरेको छ । आगलागीका कारण खाद्यान्नमा नै समस्यामा परेका ३ बालिकाहरूको परिवारलाई आइतबार सहयोग गरेको हो ।
गत जेठ २९ गते खाँदबारी नगरपालिका वडानम्बर १० मट्याङ्ग्रे खेतमा कटेरामा बसी परिवार चलाइरहेका परजकुवेर राईलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।
स्थानीय देवराज थापाको खेतमा खेती गर्दा बस्नका लागि बनाएको कटेरामा आगलागीपीडितहरू बसी खेती किसानी, ज्यालामजदुरी गरी परिवारको जीविका चलाइरहेका राई आगलागीका कारण समस्यामा परेका थिए ।
आगलागीमा परी उनका सबै धनमाल तथा खाद्यान्न जलेर नष्ट भएको र नजिकिएको दशैंको बेला खाद्यान्न समस्या टार्न सहयोग गरेको बाल हेल्पलाइन नम्बर १०९८ (दस नौ आठ) सङ्खुवासभाका प्रमुख सुजन अधिकारीले बताए ।
खाँदबारी नगरपालिका वडानम्बर १० का वडाध्यक्ष केशवराज सिंह थापाको उपस्थितिमा बाल हेल्पलाइन १०९८ ले खाद्यान्न सामग्री सहयोग स्वरूप वितरण गरेको छ ।
उक्त सहयोगले आगलागी पीडित राईका ३ जना छोरीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको संयोजक अधिकारीले बताए । निज राईका १२ वर्ष, १० वर्ष र ७ वर्षका छोरीहरू रहेका छन् ।