धरान / लिम्बुवानको किपट प्रथाको कथामा आधारित नेपाली फिल्म ‘चेसुङ’ धरानमा प्रदर्शन भएको छ । 

कोरोना महामारीपछि करिब दुई वर्षदेखि बन्द रहेको गणेश टाकिजमा शनिबार ‘चेसुङ’ हेर्न पाउँदा धराने कलाकर्मी र स्थानीय दर्शकहरु खुसी देखिए । २०६४ सालमा निर्माण भएको चेसुङलाई विजयपुर सिने आर्ट्सले पुनः प्रदर्शनको सुरुवात धरानबाट गरेको छ । शनिबार चेसुङ प्रदर्शन कार्यक्रममा फिल्मका मुख्य कलाकार प्रेम सुब्बा, सोभा खजुमसँगै लिम्बु चलचित्रका प्रथम नायक नरप्रसाद लिम्बु,  कलाकार तथा चेसुङका कार्यकारी निर्माता किशोर सम्बाहाङ्फे, विभिन्न चलचित्र निर्देशन गरिरहेका भीम लामा, नयाँ पुस्ताकी अभिनेतृ रेखा लिम्बु लगायत सहभागी थिए ।

IMG-5298

चेसुङमा २०२१ सालमा तत्कालिन राजा महेन्द्रले किपट प्रथाको उन्मुलन गरेपछि लिम्बुवान क्षेत्रका सुब्बाहरुको अवश्था नाजुक बनेको र उनीहरु बसाईं हिड्नु पर्ने अवश्था आएको कथा प्रस्तुत गरिएको छ । मौसम इम्बुङ लिम्बुले निर्देशन गरेको फिल्ममा प्रेम सुब्बा, सोभा खजुमसँगै भिष्मा चेम्जोङ, यासेली योङ्हाङ, सावित्रा इङ्नाम, रमेश सिङ्गक, विष्णु चेम्जोङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

थिएटर सहाराका अध्यक्ष तथा कलाकार नविन मेन्याङ्वोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चेसुङलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने पदम लावती, भीम चोङ्वाङ, दिलबहादुर पन्धाक, सुर्य राई, गमबहादुर राई, मोहन हुक्पा चोङ्वाङ, मुना लिम्बु, पुरन याक्खा लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी विजयपुर सिने आर्ट्सका सागर सिङ्गललाई रोश्नी फिल्म प्रोडक्सनका तर्फबाट किशोर सम्बाहाङ्फेले नगद सहित सम्मान गरे ।

IMG-5288

चेसुङ यसपछि धनकुटा, तेह्रथुम, ताप्लेजुङ, झापा लगायतका विभिन्न ठाउँमा प्रदर्शन गरिने बताइएको छ । फिल्म यसअघि नेपालका विभिन्न ठाउँसँगै अमेरिका, हङकङ, बेलायत, सिंगापुर लगायतका देशमा प्रदर्शन भईसकेको छ ।