इनरुवा । बालबिकास केन्द्रका शिक्षिका र बिद्यालय कर्मचारीले मंगलबार समेत इनरुवा नगरपालिकामा धर्ना दिएका छन् ।

बढेको तलब नदिइएको भन्दै आन्दोलित शिक्षक कर्मचारीले माग सुनुवाई नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलित पक्षले धर्नालाई निरन्तरता दिएपनि पूर्व घोषित कार्यक्रम अनुसार कार्यालय तालाबन्दी भने गर्न सकेनन् ।

कार्यालय समय लगत्तै नगरपालिका मूल गेटमा भेला भएका धर्नाकारीलाई नगर प्रहरीले बाटोमै रोकेको थियो । प्रहरीसमेत पुगेपछि शिक्षक, कर्मचारी केहिबेर सडकमै धर्ना बसेका थिए ।

नाराबाजी सहित धर्नामा बसेको आन्दोलित पक्षले माग सुनुवाईको सवालमा नगरपालिकाले वेवास्ता गरेको निष्कर्श निकालेको छ ।

जसका कारणसमेत चरणवद्ध दबाबमुलक कार्यक्रमको आवश्यकता महसुस गरिएको आन्दोलन परिचालन समिति संयोजक सोनु मगरले बताइन । उनले माग सम्बोधन नभए सम्म आन्दोलन नरोकिने बताइन् ।

यसैबिच धर्नाकारीलाई नगर प्रमुखले माग सम्बोधनको आश्वासन दिएका छन । नगर प्रमुख राजन मेहताले टोली बनाएर वार्ता मार्फत निकाश निकाल्ने विश्वास दिलाएका छन । मेयरको आग्रह पश्चात आन्दोलित पक्ष पछि हटेको छ ।

यद्यपि, आन्दोलनकारीले पटक पटकको आश्वासन कार्यान्वयन नभएकाले भर पर्ने अवस्था भने नरहेको बताएका छन । उनीहरुले अवस्था हेरेर थप निर्णयमा पुग्ने बताए ।

बालबिकासका शिक्षिका तथा विद्यालय कर्मचारी सरकारले घोषणा गरे अनुसारको तलब पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिकाए हुन । ६ हजार तलब बुझ्दै आएका उनीहरुको हकमा सरकारले १५ हजार दिने बताएको थियो ।

जसमा सरकार तर्फबाट २ हजार र बाँकीको ७ हजार भने स्थानीय तहले बेहोर्नु पर्ने भनिएको छ । इनरुवा नगरपालिकाले भने बजेट अभावमा बढेको तलब दिन समस्या परेको बताउने गरेको छ ।

इनरुवामा बालबिकास केन्द्रका शिक्षिकाको संख्या ८५ रहेको छ भने विद्यालय कर्मचारीको संख्या ६५ रहेको छ ।