धरान । नेपाल प्रेस युनियन सुनसरीले सञ्चारकर्मी रमेश राई साङ्गेनलाई दुर्घटनाबापतको रकम प्रदान गरेको छ । 

युनियनले ३ सय सञ्चारकर्मीको अजोड इन्स्यूरेन्ससँग बिमा गरेको थियो । विजयपुर एफएममा कार्यरत राईलाई दुर्घटनाबापतको ३५ हजार ५ सय रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ । 

सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्य र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संयुक्त रूपमा रकम प्रदान गरे । यसअघि पत्रकार विराट अनुपमलाई दुर्घटनाबापतको रकम प्रदान गरिएको छ । 

युनियनले प्रदेश १ का १४ वटै जिल्लाका युनियन अध्यक्षसहित ३१४ जनाको दुर्घटना बिमा गरेको युनियन सुनसरीका सभापति पवनविवश अधिकारीले जानकारी दिए । उपचारमा लागेको खर्चको बिलअनुसार सञ्चारकर्मी राईलाई रकम प्रदान गरिएको उनले बताए ।

अग्रज पत्रकार आचार्यले भने, ‘कोरोना महामारीमा कोरोना बिमा कार्यक्रम र यो दुर्घटना बिमा कार्यक्रम पत्रकारको कल्याणकारी र जीवन सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान हो ।’