धरान । च्यारिटेबल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता प्रचारका लागि धरान–११ मा शुक्रबार नेपाल पत्रकार महासङ्घ र पूर्व सिंगापुर पुलिसबीच मैत्रीपूर्ण फुटसल खेलिएको छ । 

मितेरी फुटसल पिचमा सम्पन्न खेलमा पूर्व सिंगापुर पुलिस टिमले १३–११ गोलअन्तरले पत्रकार टिमलाई पराजित गरेको छ । खेलका सिंगापुरका प्रमुख इन्स्पेक्टर श्याम लिम्बूले व्यक्तिगत ६ गोल गर्दा पत्रकारका तर्फबाट पत्रकार भोजराज श्रेष्ठले ५ गोल गरे । आयोजक मितेरीले पत्रकार महासङ्घलाई मायाको चिनो प्रदान गरेको थियो । 

मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राई र पुर्व सिंगापुर एसपी वीरेन्द्रवीक्रम लिम्बूले महासंघ अध्यक्ष जनकऋषि राईलाई मायाको चिनो प्रदान गरे । असोज १० गतेदेखि सुरु हुन लागेको प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताका लागि मैत्रीपूर्ण फुटसल खेलिएको फुटसल सञ्चालक एवम् अध्यक्ष लुकेन्द्र राईले बताए । प्रतियोगितामा धरान, इटहरी, काठमाडौं, पोखरा, चितवन, मोरङ, झापा, धनकुटाबाट ३० टिम सहभागी हुँदै छन् ।

विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही नगद २ हजार ५ सय रुपैयाँ पाउने छ ।

प्रतियोगिताबाट सङ्कलित रकमले धरान–१३ को श्यामभक्त पेट्रोलपम्पबाट भेडेटारसम्मका घुम्तीहरूमा ट्राफिक मिरर राख्ने जनाइएको छ । धरानका जोखिमयुक्त स्थानमा पनि मिरर राखिने भएको छ । त्यस्तै धरान–१७ मा निर्माणाधीन जानुका विकको घर निर्माणमा सहयोग गर्ने कार्यक्रम छ ।