विराटनगर । कमाउन धन्दामा लागेका केही इन्स्टिच्युट विद्यार्थीसँग मोटो रकम लिएर आफु अनुकलको विद्यालयमा भर्ना गराउने र उत्तीर्ण गराउनेसम्मको जिम्मा लिएर विद्यालयसँग साँठगाँठ गर्ने गरेको पाइएको छ ।

झापा, मोरङ र सुनसरीका इन्स्टिच्युटहरूले कक्षा १२ उत्तीर्ण गराउन जिम्म लिने र त्यसवापत विद्यार्थीहरू मोटो रकम लिएर उनीहरूले आफु अनुकुलको विद्यालयमा भर्ना गराएर उत्तिर्ण गराउन साँठगाँठ गर्ने गरेको पाइएको हो । 

कक्षा १२ मा अध्ययन गर्न सामुदायिक विद्यालयमा वर्षिक पाँच हजार रुपैयाँ लाग्ने गर्दछ । तर, इन्स्टिच्युटहरूले विद्यार्थीहरूसँग ४० देखि ५० हजार रुपैयाँ लिएर उत्तीर्ण गराउने जिम्मा लिने गरेका खुलेकाे छ ।

यसरी विद्यार्थी उत्तीर्ण गराउने जिम्मा लिएका इन्स्टिच्युटहरूले ग्रामिण क्षेत्रका विद्यालयहरू रोज्ने गरेकाे भेटिएकाे छ ।

३१ भदौमा मोरङको कटहरी गाउँपालिका ७ स्थित जनता माविमा कक्षा १२  ऐच्छिक नेपालीको परिक्षामा आधा दर्जन बढी नक्कली परीक्षार्थी भेटिएपछि यस्तो रहस्य बाहिर आएको हो । जनता माविमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । तर, कक्षा १२ मा मात्र ३ सय ४७ जना विद्यार्थी छन् । जसमध्ये ३ सय ३९ जना नियमित तर्फ र ८ जना एक्जामटेड तर्फका विद्यार्थीले अहिले कक्षा १२ को परीक्षा दिदै आएका छन् ।

परीक्षामा सामेल भएका मध्ये मुस्किलले जनता माविबाट एसइई उत्तीर्ण गरेर भर्ना भएका विद्यार्थी २० देखि ३० जना मात्र रहेका छन् । बाँकी रहेका अन्य सबै विद्यार्थीहरू झापा, सुनसरी, धनकुटा र अन्य विभिन्न पहाडी जिल्लाका विद्यार्थीहरू रहेका छन् । अहिले उनीहरू परीक्षा दिन गाडी रिजाव गरेर आउने गरेका छन् ।

अन्यन्त्र जिल्लादेखि जनता माविमा भर्ना भएका विद्यार्थीहरूलाई इन्स्टिच्युटले उत्तीर्ण गराउने सम्पूर्ण जिम्मा लिएपछि विद्यार्थीले ४० देखि ५० हजार रुपैयाँसम्म बुझाउने गरेको स्रोतले जानकारी दिएको छ ।

‘विद्यार्थीबाट इन्स्टिच्युटले पैसाँ लिएपछि पास गराउने सम्पूर्ण जिम्मा लिएका हुन्छन् । त्यही भएर केन्द्रअध्यक्ष, प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीहरूसम्मलाई मिलाएको हुन्छ,’ स्थानिय एक जना शिक्षकले भने , ‘एक पटक विद्यार्थी भर्ना हुँदा विद्यार्थी देख्न पाइन्छ । त्यसपछि एकै पटक फाइनल परीक्षामा विद्यार्थी आउने गरेका छन् । त्यो पनि विद्यार्थी चिन्न नसक्दा कति त नक्कली परीक्षार्थी पनि हुन्छ ।’

एक जना शिक्षका अनुसार जनता स्कूल लाग्दा कक्षा ११ र १२ मा नियमित विद्यालय आएर अध्ययन गर्ने मुस्किलमा २० देखि ३० जना मात्र विद्यार्थी हुने गर्दछन् ।