धरान । धरान उपमहानगरपालिकाले असोज ४ गतेबाट भौतिक रुपमा विद्यालय खोल्ने तयारी गरिरहेका बेला अभिभावकहरुले भने दशैं–तिहारपछि मात्र भौतिक कक्षा सञ्चालन गर्न माग गरेका छन् ।

बुधबार अभिभावक संघ, नेपालको धरान नगर समितिले उपमहानगरपालिकाका मेयर तिलक राईलाई ध्यानाकर्षण तथा सुझावपत्र बुझाउँदै चाडपर्वपछि मात्र विद्यालय खोल्न माग गरेका हुन् । संघले असोज २१ गतेदेखि दशैं विदा सुरु हुने भएकाले त्यसअघि १५ दिन मात्र पढाई हुने साथै कोरोनाको नयाँ भेरिएन्ट समेत देखिइरहेकाले चाडपर्वपछि मात्र भौतिक कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । 

अनलाईन कक्षाको शुल्क निर्धारण नभएकै अवश्थामा स्थानिय सरकारले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने विषयमा सुझाव माग गरेको देख्दा अचम्मित भएको उल्लेख गर्दै सङ्घले ध्यानाकर्षण तथा सुझाव पत्रमा भनेको छ, ‘एकातिर शुल्क निर्धारण नगर्ने, महामारीको समयमा गैरकानुनी रुपमा ४० प्रतिशतसम्म शुल्क वृद्धि हुँदा मुकदर्शक भएर बस्ने अनि नजिकिंदै गएको चाडपर्वको समयमा केवल १५ दिनका लागि विद्यालय सञ्चालन गराउने निजि विद्यालयको सुत्सित मनसायलाई प्रोत्साहित गर्न स्थानीय सरकार किन तम्तयार भएको हो ?’

शुल्क निर्धारण नभए आन्दोलन

कोरोना महामारीले अभिभावकहरुको आर्थिक अवस्था खस्किएको बेला निजि विद्यालयहरुले अभिभावकहरुसँग सल्लाह बिनै ४० प्रतिशतसम्म शुल्क वृद्धि गरेको र सो विषयमा उपमहानगरपालिकालाई पटक पटक जानकारी दिंंदा समेत कुनै पहल नभएको भन्दै सङ्घले ४८ घन्टाभित्र शुल्क निर्धारण गर्न पनि उपमहानगर समक्ष माग गरेको छ ।

अनलाईन कक्षाको शुल्क निर्धारण नभई विद्यालयहरुले आफुखुसी लिने गरेको र उपमहानगरपालिकाले गरेका निर्णय समेत अटेर गरेको भन्दै सङ्घले ४८ घन्टाभित्र अनलाईन कक्षाको समेत शुल्क निर्धारण गर्न माग गरेको छ । शुल्क निर्धारण नभए चरणबद्ध आन्दोलनमा उत्रिने सङ्घले जनाएको छ ।

उपमहानगरपालिका मेयर राईले भने भोलि बिहीबारको कार्यपालिका बैठकमा विद्यालय खोल्ने र शुल्क निर्धारण सम्बन्धी निर्णय हुने बताए । उनले भने, ‘विद्यालय खोल्नैपर्छ, असोज ४ गतेदेखि भौतिक कक्षा सुरु हुन्छ शुल्कका विषयमा पहिला धेरै लिइएको भए समायोजन हुन्छ । तर अनुमति नलिई शुल्क बढाउँन पाईदैन ।’

abhibhabak