धरानः धरान–१६ स्थित यु एन कलेजको बिएचएममा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि प्रदेश १ मा  ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ भएका छन् ।

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको बिहिबार नतिजा आएको छ । तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश सेकेण्ड टप गर्न सफल भएको कलेजले जनाएको छ । उनले ३.८४ जिपिए प्राप्त गरेकी छिन् ।

यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याएकी छिन् । जानुकाले ३.७३ जिपिए प्राप्त गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । ती सबै विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । 

क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार  विद्यार्थीहरुलाई नगद, सम्मानपत्रले सम्मान गरिनेछ । प्रमुख तुम्बापोका अनुसार प्रिजालाई नगद २० हजार रुपैयाँहित सम्मानपत्रले सम्मान गर्न लागिएको छ भने जानुकालाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिनेछ । युएन कलेजले बि एच एम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मानपत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद २० हजार र सम्मानपत्र, थर्ड टपरलाई नगद १५ हजार र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम राख्दै आएको छ । उनका अनुसार धरान टपरलाई नगद १५ हजारसहित सम्मानले सम्मान गर्ने कार्यक्रम गरिँदै आएको छ ।