धरान । सेवक अभियानले आज (शनिबार) पदयात्रासँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ गरेको छ ।
प्रतिष्ठान फोहोरको अखडा भएकाले सफाइ गर्न आवश्यक रहेको भन्दै अभियानले पदयात्रासँगै सफाइ गरेको हो । धरान–२ सिंहदेवी चोकबाट अभियानको टोली बीपी प्रतिष्ठानमा पुगेको थियो । प्रतिष्ठानमा सफाइ गरिएको अध्यक्ष राजीव हलुवाईले जानकारी दिए । उनका अनुसार बीपी प्रतिष्ठानभित्र रहेको दुर्गन्ध र दुषित वातावरणलाई सफाइ गर्ने उद्देश्यले बृहत् सफाइ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा धरानका नगर प्रमुख तिलक राई, बीपी प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा. वीक्रमप्रसाद श्रेष्ठलगायत व्यक्तित्वहरू पनि सहभागी रहेका थिए । प्रतिष्ठानमा अहिले आन्तरिक शुद्धीकरण गर्नका लागि चिकित्सक, नर्स, कर्मचारी सम्मिलित संयुक्त सङ्घर्ष समिति गठन गरी आन्दोलन पनि जारी राखेका छन् । आन्दोलन ८२ औं दिनमा पुगेको छ ।
यता सेवक अभियानले भने प्रतिष्ठानबाहिरको सफाइ गरेको हो । प्रतिष्ठान धरानको गहना भएकाले पनि सफाइ आवश्यक रहेको अध्यक्ष हलुवाईले जानकारी दिए ।