धरान । धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा स्थापित ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ । 

नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान नगरको सहकार्यमा वितरण हुँदै आएको पुरस्कार पत्रकार आङ्लालाई बिहीबार धरान–२ स्थित पार्टी कार्यालयमा प्रदान गरिएको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । पुरस्कार प्रदेश १ का नेपाली काङ्ग्रेसका संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइराला र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले प्रदान गरे । 

नगर प्रमुख तिलक राईले आफ्नो सेवासुविधा तथा भत्ताबाट प्राप्त रकम पत्रकारिता पुरस्कारको अक्षयकोषमा प्रदान गरेका थिए । उनले २ लाख रुपैयाँ प्रदान गरेका हुन् । अग्रज पत्रकार आचार्य लामो समयदेखि पूर्व टाइम्स साप्ताहिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन् । उनी विभिन्न पत्रपत्रिका तथा भारतबाट प्रकाशित हुने पत्रपत्रिकामा पनि लेख रचना पठाउँदै आएका थिए । आचार्य नेपाली काङ्ग्रेस सुनसरीका संस्थापक सचिवसमेत हुन् । 

पुरस्कारको घोषणा गत माघमै भएको भए पनि कोरोना महामारीका कारण प्रक्रिया अगाडि बढाइएको थिएन । संस्थाले अक्षयकोषको सञ्चालक समिति गठन गर्दै प्रक्रिया अगाडि बढाएको छ । जसको संयोजकः मातृकाप्रसाद नेपाल, सदस्यहरूमा मुरारी भट्टराई, पञ्चकला राई, हर्ष सुब्बा र सदस्य सचिवमा शान्ता निरौला छिन् । पुरस्कार सुनसरी र धरान कार्यक्षेत्र बनाएर कार्यरत पत्रकारलाई प्रदान गरिने जनाइएको छ । त्यसका लागि विभिन्न कार्यविधि पनि बनाइएका छन् । 

(आचार्यले प्रकाशित गर्ने पत्रिकाको नाममा यसअघि पूर्वी पोष्ट उल्लेख भएकाले सच्याइएको छ । सम्पादक)