मोरङ पथरीशनिश्चरे ७, स्थित लामाटोलीका पत्रकार बिजय खम्बूलाई आर्थिक सहयोग गरेर जीवन बचाई दिन तीन छोराछोरीले आग्रह गरेका छन् ।  

जेण्डिस बिग्रेर कलेजो रोगबाट पीडित ३३ वर्षीय खम्बूको चिन्ताजनक अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोही समस्याको कारण खम्बूको फोक्सो र पेटमा पानी जमिनुको साथै खुट्टालगायतको भाग सुन्निएको अवस्था छ । लामो समयदेखि अस्वास्थ्य रहँदै आएका खम्बूको मोरङ विराटनगरको नोबेल, उर्लाबारीको अरनिकोलगायतको अस्पतालमा उपचार गरिसकेको पत्नी कल्पना राईले बताइन् । 

नोबेलमा करिब दुई हप्ता आईसीयु (सघन उपचार कक्ष) मा राखेर उपचार भएको थियो । अलिक सन्चो भएपछि घरमा ल्याउदा पुनः बिरामीले च्यापेपछि उर्लाबारीको अरनिकोमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हालसम्म उपचार गर्दा चार लाख बढी खर्च भएको परिवारले जनाएको छ । 

साउन १० गतेदेखि धरानको बीपी अस्पतालमा उपचार भइरहेको छ । मृगौलामा समेत हल्का समस्या देखिएका खम्बूलाई दैनिक ४० हजारको औषधि (भ्याक्सिनसहित) लाग्दै आएको पीडित खम्बूकी बहिनी करुणा राईले बताइन् । १० हजार गोटाको तीन वटाको दरले भ्याक्सिन लाउनु पर्ने र महंगो भ्याक्सिन पसलले बाँकी नदिने भएकोले आर्थिक समस्या हुँदै आएको करुणाको भनाइ छ । 

घर परिवारमा भएको पैसा सकिएपछि बाँकी खर्च निकाल्न नसक्ने अवस्थामा पुगेको पीडितका भाइ सञ्जय राईले बताए । उपचार पुगे दाइ पूर्ण स्वास्थ्य हुने डाक्टरहरुले बताउने गरेको बहिनी करुणाले बताइन् । दाजुलाई बचाउन सहयोग जुटाइदिन बहिनीले अनुरोध गरेकी छन् । 

भोजपुरको साबिक तिम्मा गाबिस ५ मा २०४५ सालमा जन्मिएका खम्बू हाल पथरीशनिश्चरे ७ लामाटोली बस्दै आएका छन् । खम्बूका छोरीहरु १३ वर्षीया छेन्खामा, ९ वर्षीय हेन्खामा र ७ वर्षीय छोरा नेल्सन गरी तीन जना छोराछोरी रहेका छन् । शनिबार खम्बूको घर पुगेका पत्रकारहरुलाई छोराछोरीले बाबुलाई बचाउन आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् । 

विजय खम्बू राई बेलबारीबाट प्रकाशित किटान साप्ताहिक, धरानको औजार, बिर्तामोडको प्रतिदिन दैनिकमा काम गरेका थिए । पछिल्लो समयमा आफ्नै नाममा तिम्मा साप्ताहिक पत्रिका दर्ता गरेर प्रकाशन गर्दै आएका थिए । 

जेण्डिसले च्याप्दै गएपछि तिम्मा पत्रिका पनि बन्द गरेर घरैमा आराम गर्दै आएका थिए । खम्बू किरात राई यायोक्खाको पथरी गाउँ समितिको पूर्व अध्यक्ष भएर काम गरेका थिए । पथरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका खम्बू राईलाई बचाउन सहयोग संकलन सुरु भएको छ । 

१ लाख १५ हजार सयोग संकलन 

बिरामीले झनै च्याप्दै गएपछि उपचारका लागि ‘बिजय खम्बू राई उपचार कोष समिति’ गठन गरेर आर्थिक संकलन सुरु भएको छ । 

पथरीको सिटिजन बैंक इन्टरनेश्नल लिमिटेडमा ‘बिजय खम्बू राई उपचार कोष समिति’कै नाममा खाता खोलेर सहयोग संकलन सुरु भएको हो । समितिमा अर्जुन जम्नेली राई, दिनेश सुब्बा, मोहन भट्टराई, सन्तोष राई, नवराज भट्टराई, सरोज बस्नेत, केदार चौहान, रबिन कन्दङ्वा, कुमार खड्का, बिजय धिमाल, भीमराज अधिकारी, विवेक न्यौपानेलगायत पथरी, उर्लाबारीका सम्पूर्ण पत्रकारहरु, किरात राई यायोक्खा पथरीशनिश्चरे नगर अध्यक्ष प्रेमकुमार राई, हाम्रो फाउण्डेशनको प्रमुख प्रदीपकुमार राई, पथरी जेसीजका पूर्व अध्यक्ष मान दियाली, पीडित खम्बूकी पत्नी, भाइ, बहिनीलगायतको समिति गठन गरेर आर्थिक सहयोग संकलन सुरु भएको छ । 

सहयोग गर्न इच्छुकले सिटिजन बैंक इन्टरनेशनल पथरीको खाता नम्बर १८८०१००००१०१२२०१ मा वा ९८४२०६३४९० नम्बरमा कल गरेर सहयोग गरिदिन भाइ सञ्जय राईले अनुरोध गरेका छन् । 

सहयोग कोषमा पत्रकार लोकबहादुर चौहान (हाल अमेरिका) बाट २५ हजार सात सय, अमेरिका बस्दै आएका पथरीबासी मनि राई र सुनिता राईबाट २० हजार १ सय, भुवन पिठाकोटे मगरबाट २० हजार, हाम्रो फाउण्डेशनको तर्फबाट प्रदीपकुमार राईले १० हजार पाँच रुपैयाँ गरी जम्मा १ लाख १४ हजार ८ सय ५ रुपैयाँ संकलन भइसकेको कोषको संयोजक अर्जुन जम्नेली राईले बताए ।