धरान । धरान–१९ को किरातेश्वर मावि परिसरमा दाताले निर्माण गरिदिएको दुई तले भवन सोमबार उद्घाटन गरिएको छ । 

‘मानवीर लङ्वा र इशा एभेङ लिम्बूको स्मृतिमा निर्मित भवन सिनियर एरिया वेलफेयर अफिसर क्याप्टेन पूर्णप्रसाद लिम्बूले उद्घाटन गरे । हङकङमा बस्दै आएकी इसाको स्मृतिमा परिवारले ७ लाख ९० हजार रुपैयाँ खर्चेर एक तलेको दुई कोठा निर्माण गरिदिएको हो । त्यस्तै सेभेन जिआरमा आवद्ध भई सेवा गरेका मानवीर लङ्वाको स्मृति पनि उनको परिवारले ७ लाख १८ हजार रुपैयाँको लागतमा माथिल्लो तलाको दुई कोठा निर्माण गरिदिएको हो । 

उनीहरू धरान–१९ निवासी हुन् । लङ्वाको ७६ वर्षको उमेरमा निधन भएका थिए भने एभेङको ३२ वर्षको उमेरमा बेलायतमा निधन भएको हो । उनको परिवारले स्कुलका लागि भवन निर्माण गरिदिएको स्कुलका प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वाले बताए । 

भवन निर्माण गरेर परिवारले स्कुल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिदिएको हो । विद्यालयले उक्त भवन कार्यालयीय प्रयोजन गर्ने जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख रत्नबहादुर कटुवाल, मानवीर लङ्वा स्मृति कक्ष निर्माणकर्ता मायन्द्री लिम्बूलगायतको उपस्थिति रहेको थियो ।