प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकाे प्रस्तावमा एमाले नेता भीम आचार्य नेकपा एमाले प्रदेश १ काे संसदीय दलका नेता चयन भएका छन् ।  नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका हुन् । विराटनगरकाे एसियाटिक हाेटलमा आज बसेकाे दलको बैठकले आचार्यलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरिएकाे हाे ।

दलका नेता शेरधन राईले दलको बैठकमा राजीनामा दिएर आचार्यलाई दलको नेतामा गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

यसैबीच ५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ ।

दलको बैठक सम्पन्न हुनेवित्तिकै मुख्यमन्त्री पदबाट राजीनामा दिन शेरधन राई प्रदेश प्रमुखकहाँ जाने तयारी गरेको बुझिएको छ ।

संसदीय दलको बैठक सम्पन्न भएपछि संचारकर्मीलाई छोटो प्रतिक्रिया दिदै मुख्यमन्त्री राईले पार्टी एकतालाई ध्यानमा राखेर र पार्टीको साखलाई बचाइ राख्न आफ्नै प्रस्तावमा भीम आचार्यलाई दलको नेता बनाइएको बताए ।

‘पार्टी एकतालाई ध्यानमा राखेर, खास गरी नेकपा एमाले र एमालेको प्रभाव तथा वर्चस्वलाई कायम गर्ने, सरकारलाई जस्ताको तस्तै राख्ने योजना अनुसार मेरो प्रस्तावमा उहाँलाई दलको नेतामा सर्वसम्मत गरिएको हो,’ राईले भने । उनले अब मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई पार्टीको तर्फबाट प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने पनि बताए । त्यसअघि आफूले राजीनामा दिने उनको भनाइ थियो ।