धरान/ मनसुनी वायुको प्रभावबाट आज बिहान प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा थोरै मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
आज इलाम, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, नवलपुर, नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, कञ्चनपुर, कैलाली, अछाम, डोटी, डडेलधुरा, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको भने प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ ।
बर्दियास्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाउँदै महाशाखाले सो क्षेत्रमा सतर्कता अपनाउन सचेत गराएको छ ।
नारायणी र यसका सहायक नदीहरुमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।
कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत मझौला नदीहरुमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
कोसी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काई नदीमा पनि बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।