बेलबारी । सुन्दरहरैंचा नगरपालिकाले नगरका उत्कुष्ट ३ वटा शैक्षिक संस्थाहरुको स्तर उन्नति तथा सुविधाको लागि स्कुल बस हस्तान्तरण गरेको छ ।

सोमबार नगरपालिकाले नगरकै नमूना तथा धेरै विद्यार्थी भएको सुकुना माध्यमिक विद्यालय र साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी क्याम्पसलाई सवारी साधन प्रदान गरेको हो । विद्यालयलाई स्रोत र साधनले सम्पन्न बनाउन नगरपालिकाले सहयोग गरेको हो । आगामी दिनमा अन्य विद्यालयलाई पनि स्कुल बसको लागि अनुदान दिइने तथा भौतिक पूर्वाधार तथा अन्य क्षेत्रमा समेत सहयोग गरिने योजना रहेको नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।

कार्यक्रममा सुकुना माध्यमिक विद्यालयका प्रअ लक्ष्मीकुमार श्रेष्ठले नगरपालिकाले गरेको कार्यको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र विद्यालयमा विद्यार्थी सहज तरिकाले आउन सहयोग पुग्ने बताए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका उपमेयर धनमाया तामाङ , प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे , जनप्रतिनिधिहरु तथा विद्यालय र क्याम्पसका शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सुन्दरहरैँचा नगरपालिकाबाट साजीलाल र सुकुना माध्यामिक विद्यालय दुवै लाई ३०/३० लाख तथा सुकुना बहुमुखी क्याम्पस लाई सत प्रतिशत अनुदान दिएर खरिद गरिएका तीनवटा स्कूल बस नगरपालिकाको तर्फबाट हस्तान्तरण गरिएको नगर प्रमुख ढकालले उल्लेख गरे ।