बिर्तामोड । झापाको कन्काई नगरपालिकाले नियम विपरीत प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी ठेक्का लगाएको खुलेको छ । नगरपालिकाले ‘अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२’ विपरीत फार्मेसी सञ्चालनको लागि ठेक्का दिएको हो ।

निर्देशिकामा ‘दक्ष जनशक्तिमार्फत् आफ्नै फार्मेसी सेवा’ सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर, नगरपालिकाले बिर्तामोडको कलश फर्मालाई फार्मेसी सञ्चालनका लागि ठेक्का दिएको छ । कलश फर्माले ५१ लाख ७५ हजार वार्षिक शुल्क तिरेर फार्मेसी सञ्चालनका लागि ठेक्का पाएको हो । सम्झौताअनुसार फर्माले २०७८ असार मसान्तसम्म प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सञ्चालन गर्नेछ । फार्मेसीले बिमा सुविधा अन्तर्गत वितरण गर्ने औषधिको समेत जिम्मा पाएको छ ।

नियमअनुसार प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन समितिको अध्यक्ष सम्बन्धित वडाका अध्यक्ष हुने प्रावधान छ । तर, कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्षको हैसियतमा कलश फर्मासँग सम्झौता गरेका छन् । ‘मेयरसा’वले आफै सम्झौता गर्नुभयो, त्यो गलत भयो’–कन्काई नगरपालिकाका एक  कर्मचारीले भने ।

नियम मिचेर आफन्तलाई नियुक्ति
मेयर पोखरेलले नियम मिचेर नातामा भतिजो पर्ने योगेन्द्र पोखरेललाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव टेक्निसियन नियुक्त गरेका छन् । नगरपालिकाले ल्याव टेक्निसियन पदका लागि विज्ञापन सार्वजनिक गरेको थियो । त्यो बेला ५ वटा आवेदन परेको नगरपालिकाको स्वास्थ्य शाखाका एक कर्मचारी बताउँछन् ।

प्रतिस्पर्धाबाट पोखरेल नियुक्त हुन नसक्ने अवस्था आएपछि त्यो विज्ञापन नै खारेज गरिएको थियो । ‘विज्ञापन खारेज गरेर सबै आवेदकको शुल्क फिर्ता गरियो’ नगरस्रोतले भन्यो, ‘पछि व्यक्तिगत रूपमा अर्काे निवेदन मागेर पोखरेललाई नियुक्ति दिइयो ।’ बीएमएलटी पोखरेल अहिले प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा कार्यरत छन् । 

‘सुरुमा करारमा नियुक्ति गर्ने भनिएको थियो’ प्राथमिक स्वास्थ्य केन्द्र कन्काईका निमित्त प्रमुख डाक्टर मनिष तिमिल्सिनाले भने, ‘करारमा राख्दा ३५ वर्ष उमेर नकटेको हुनुपर्ने हुँदा मेयरसा’वको दबावमा ३६ वर्षका योगेन्द्रजीलाई शीर्षक परिवर्तन गरेर दैनिक ज्यालादारीमा राखियो ।’

कार्यालयमा काम गर्ने कर्मचारीलाई कोभिड जोखिम भत्ता
नगरपालिकाले स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई १ सय प्रतिशत जोखिम भत्ता बाँडेको खुलेको छ । कोभिडको पहिलो लहर चल्दा स्वास्थ्य शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई १ सय प्रतिशत जोखिम भत्ता बाँडेको नगरपालिकाले तत्कालीन समयमा क्वारेण्टाइनमा कार्यरत कर्मचारीलाई ५० प्रतिशत मात्र भत्ता उपलब्ध गराएको थियो ।

यो वर्ष पनि स्वास्थ्य शाखाका सम्पूर्ण कर्मचारीलाई त्यस्तो भत्ता बाँडिएको डाक्टर तिमिल्सिनाले बताए । ‘कोभिडको चरम सङ्कटको बेला घरमा बसेका कर्मचारीले पनि १ सय प्रतिशत भत्ता लिएका छन्’ तिमिल्सिनाले भने, ‘मेयरसा’वले स्वास्थ्य शाखामा काम गर्ने कर्मचारीलाई भत्ता दिन कार्यपालिकाबाट निर्णय गराउनुभयो, त्यही निर्णयमा टेकेर भत्ता वितरण भएको छ ।’

कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले नियम मिचेर प्राथमिक स्वास्थ्य केन्द्रमा नियुक्ति दिएका योगेन्द्र पोखरेल उनका आफन्त भएको स्वीकार गरेका छन् । पोखरेलको नियुक्तिबारे जिज्ञासा राख्दा अन्कनाएका मेयर पोखरेलले नियमसम्मत ढङ्गबाट दैनिक ज्यालादारीमा राखिएको जिकिर गरे । उनले नगरपालिकाले बीएमएलटीका लागि निकालेको विज्ञापन रद्द गरेको बताउँदै प्राथमिक स्वास्थ्य केन्द्रले  निवेदन लिएर उनको नियुक्ति गरेको जानकारी दिए ।