भद्रपुर/ झापाको एक नीजि विद्यालयले एउटा नयाँ एम्बुलेन्स उपलब्ध गराएको छ । भद्रपुर ९ स्थित प्रज्ञा एकाडेमीले भद्रपुर नगरपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको हो । एम्बुलेन्स सहयोग गर्नेमा विद्यालयको नजरमा नेपालकै पहिलो एकाडेमी परेको छ ।
अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री जडित एम्बुलेन्सलाई प्रज्ञा एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले बिहीबार नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
नगर क्षेत्रभित्रका कोरोना सङ्क्रमित बिरामीलाई जिल्लाभरीका अस्पतालसम्म निःशुल्क पु¥याउने उद्देश्यले एकाडेमीले कोरोना महामारी अवधिभरका लागि एम्बुलेन्स उपलब्ध गराएको पाण्डेले बताए । नगरपालिकालाई दिएको एम्बेलुन्समा विद्यालय प्रशासन पक्षसहित कार्यरत शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
एम्बुलेन्स चालकको सेवा सुविधा पनि विद्यालयले नै व्यवस्थापन गरेको उनले जनाए । एम्बुलेन्स चालकको तलब शिक्षकहरुले आफ्नो तलबबाट मिलाएर दिने मञ्जुरी भएको उनले बताए ।
महामारी न्युनिकरणसँगै रोकथाम भएपछि विद्यालयले एम्बुलेन्स फिर्ता लिने उनको भनाइ छ । सामाजिक उत्तरदायित्व वहन गरेको उनले जनाए ।
नगरमा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स भइरहेको समयमा नयाँ एम्बुलेन्स सहयोग गरेकोमा मेयर श्रेष्ठले विद्यालय परिवारलाई धन्यवाद दिएका थिए । मान्छे ठुला — ठुला गफ गर्ने तर सङ्कटको समयमा केही सहयोग नगर्नेलाइ यो काम उदाहरणीय बनेको उनको भनाइ थियो ।
एकाडेमीले समय समयमा नगर क्षेत्रभित्र विभिन्न सहयोग गर्दै आइरहेको उनले जनाए । अन्य विद्यालयहरुले पनि एकल या समूहगत सहयोग गर्न मेयर श्रेष्ठले अनुरोध गरेका थिए ।