द्रुत प्रतिकार्य केन्द्र (क्विक् रेसपोन्स सेन्टर, क्युआरसी वराहक्षेत्र) ले स्थानीय बेवारिसे र सडक आश्रित व्यक्तिहरुलाई आश्रय स्थलको व्यवस्थापन गरिदिएको छ ।
वराहक्षेत्रका ३ जना सडक आश्रितहरुलाई माया घर, ओरेक र वराहक्षेत्र नगरपालिकाको संयोजनमा व्यवस्थापन गरिएको क्युआरसी वराहक्षेत्र संयोजक विमला घिमिरेले जानकारी दिइन् ।
प्रकाशपुर, चक्रघट्टी र चतरामा फेला पारिएका बेवारिसे व्यक्तिलाई मायाघर इटहरीले आश्रय प्रदान गरेको छ ।
क्युआरसीले कोभिड–१९ बाट सङ्क्रमित भएका ४५ जनाको घरमा पुगी ‘सेनिटाइज’ समेत गरेको छ । सङ्क्रमणबाट निको भइसकेपछि घरमा सङ्क्रमणविरुद्धको औषधि छर्किएको क्युआरसीका सदस्य निकेश दाहालले जानकारी दिए ।
क्युआरसीले कोभिड सङ्क्रमणका कारण खाद्यान्न व्यवस्थापन गर्न कठिन भएकालाई व्यवस्थापनमा सहजीकरण गर्ने, मानसिक स्वास्थ्य समस्यामा परेकालाई मनोविमर्श सेवा प्रदान गर्ने, सडकमा बेवारिसेलाई व्यवस्थापन गर्ने, रगत अभाव भएका बिरामीलाई उपलब्ध गराउने, अस्पतालमा बेड नपाएको अवस्थामा उपलब्ध गराउने जिम्मेवारी लिएको संयोजक घिमिरेले बताइन् ।
‘क्युआरसी वराहक्षेत्र नगरपालिका टिम कोरोना सङ्क्रमणको विषम् परिस्थितिमा हरप्रकारले सहयोग गर्न तत्पर छ,’ क्युआरसी संयोजक घिमिरेले भनिन्, ‘युवाहरुलाई सकारात्मक काममा अघि बढाउन र निःस्वार्थ समाज सेवा सिकाउने उद्देश्यले हामी संगठित र समर्पित छौं ।’