धरान । होप अर्थात् आशा जीवनको महत्त्वपूर्ण अंग हो, सायद । यसैका कारण मृत्युको मुखमा पुगेका मान्छेहरू पुनःजीवन प्राप्त गर्दछन् । अहिले विश्व कोरोना महामारीमा जुधिरहेको छ । कोही होम आइसोलेसनमा, कोही अस्पतालमा, कोही अस्पतालको भेन्टिलेटरमा पुगेर पनि पुनःजीवन प्राप्त गरिरहेका छन् । 


सायद यही ‘होप’ का कारण हुनसक्छ । जस्तोसुकै कठोर परिस्थितिमा पनि बाँच्नुपर्छ भन्ने सिकाउने यस्तै फिल्मको चर्चा गर्दैछौं आज । जो आज कोरोनाका कारण जीवन र मरणको दोसाधबाट गुज्रिरहेका छन् । उनीहरूका लागि यस फिल्म साच्चै एउटा आशाको दियो हुनेछ । 

सन् २०१८ मा रिलिज भएको अष्ट्रेलियन ‘एक्सन ड्रामा’ फिल्म ‘सर्वाइभ अर डाइ’ यस्तै प्रकृतिको फिल्म हो । जहाँ अनेकन दुःखकष्टसँगै मृत्युको मुखमा पुगेर पनि कलाकार इमान्नुयल सामुल सुखद जीवन जिउने अवसर प्राप्त गर्छिन् । 

गृहयुद्धका कारण अनेकन दुःखकष्टका बावजुद भागेर ज्यान बचाउन सफल बनेको शरणार्थी इम्मानुयलको अर्को दुःखको कथा सुरु हुन्छ । जब उनी ज्यान बचाएर अष्ट्रेलिया पुग्ने सपनाका साथ एउटा सानो पानीजहाजमा यात्रा गर्न सुरु गर्दछन् । उनको यात्रामा विभिन्न देशका उनी जस्तै दुःख पाएका मान्छेहरू हुन्छन् । सबैको आआफ्नै कथा हुन्छ । तर, कथाको मुख्य पात्र इम्मानुएल अर्थात् सदेकै वरिपरि घुमेको छ । उनको विगत र आगत एकदमै दर्दनाक छ । नाइजेरियन कलाकार इम्मानुएलको पहिलो डेब्यु फिचर फिल्म हो । 

पानीजहाजमा रहेका एकले अर्कालाई चिनेका हुँदैनन्, कसैलाई कसैको नाम थाहा हुँदैन । तर, पनि सबैको सपना भने अष्ट्रेलिया पुगेर सुखद् जीवन बिताउने आकांक्षाले भरिएको हुन्छ । 

एक संवादः 

सदेलाई एक मुस्लिम वृद्धले सोध्छन्ः किन यस्तो खतरापूर्ण भ्रमण गरिरहेका छौं ? 

तिमी चाहिँ ? उल्टै प्रतिप्रश्न गर्छिन् । 

वृद्धले भन्छन्ः यस्तो सामान्य प्रश्न, हास्छन्ः अष्ट्रेलिया गएर योभन्दा सुन्दर जीवन बिताउन चाहन्छु । 

पानीजहाजमा हुने संवादबाट बुझ्न सकिन्छ कि धेरैजसो अफ्रिकन देशबाट प्रतिनिधित्व गर्ने पात्रहरू छन् । पानीजहाजमा हिँड्दाहिँड्दै जमिनको भाग देखिने बित्तिकै सबै खुसी हुन्छन्, खुसीले सबैजना नाच्छन् । मानौं, उनीहरूको सपनाको घर आइपुगेको होस् । जुन ठाउँ अष्ट्रेलियाको एकदमै दुर्गम बसोबास क्षेत्रमध्ये एक हुन्छ । उनीहरू अवैधानिक रूपमा त्यहाँ उत्रिन्छन् । तर, कहाँ जाने, कसरी पुग्ने कुनै हेक्का हुँदैन । 

उनीहरू सकैसँग पैसा हुँदैन, भोकले छट्पटिएका उनीहरूले नीर्जन जंगलमा केही खाने फलाहार प्राप्त गर्छन् । तर, उक्त फलाहार खाएपश्चात् केही व्यक्तिको निधन हुन्छ । त्यसपछि फिल्मले नयाँ मोड लिन सुरु गर्छ । नीर्जन जंगल, कठोर इलाका क्षेत्र जहाँ गाउँबस्तीको कल्पना पनि गर्न सकिँदैन । त्यहाँ उनीहरूसँगै आएका क्याप्टेन अर्थात् फ्लिनो डोलोसोले फरक रूप देखिन सुरु हुन्छ । जसले जीवनमा सबै कुरा गुमाएका हुन्छन्, परिवार, आफ्नो छोरा गुमाएको बदलामा उनले सदेलाई बारम्बार आक्रमण गर्ने प्रयास गर्छन् । सदे उनीबाट बच्नका लागि भाग्ने प्रयास जारी रहन्छ । 

उनीसँग रहेका बाँकी मान्छेहरूको पनि भोकमरीका कारण मृत्यु हुन पुग्दछ । एउटा रोहिङ्गम सानी केटी जसको नाम माया हुन्छ । उनी साथसाथमा लाग्छिन् । तर, उनीबाट पनि सदे हरक्षण तर्किने प्रयास गर्छिन् । एकातिर क्याप्टेनका आक्रमणको डर अर्कोतिर बच्ची साथमा लागेपछि उनलाई केही असहज भएको हुन्छ । ती बच्ची जसको आफ्नाआफन्त कोही हुँदैन । यतिसम्मकि आफ्नो कुनै देश नभएको बताउँदा सदे छक्क पर्छिन् । 

सपना पूरा गर्न उनीहरू नीर्जन जंगलमा एकोहोरो हिँडिरहन्छन् । उता क्याप्टेनले समय समयमा उनीमाथि आक्रमण गर्न पुग्छन् । तर पनि ज्यान बचाउँदै हिँडिरहन्छिन् । त्यही क्रममा मायालाई उनले हत्या गरिदिन्छन् । कयौं दिनको हिँडाइको क्रममा उनले एउटा घर देख्छिन्, भोकले ग्रस्त बनेकी उनी त्यो घरमा पुग्छिन् जहाँ स्याउ राखिएको हुन्छ । त्यहीँ टिपेर खान्छिन् ।

त्यही क्रममा क्याप्टेनको पनि आगमन हुन्छ । जुन घरमा एकजना मानिस हुन्छन्, सदेलाई हत्या गर्ने प्रयास गर्दा क्याप्टेनले उनको हत्या गर्न पुग्छन् । उक्त हत्या कसले गरेको हो भन्ने थाहा नभए पनि त्यसबेला सदे भाग्दै गरेको अर्को साथीले देख्छ । उसैले साथीको हत्या गरेको ठानेर उनले सदेलाई मार्नका लागि पटक पटक प्रयास गर्छ । भाग्ने क्रममा मरुस्थलमा पुग्छिन् । उता क्याप्टेनले पनि खोजी गरिरहेको हुन्छ । क्याप्टेन पनि मरुस्थलमै पुग्छन् । उनीहरूबीचको दूरी धेरै हुँदैन । 

पानी प्यासले व्याकुल बनेकी उनलाई भोकमरीका कारण मृत्यु भएका मुस्लिम वृद्धले आकाशवाणीमार्फत् भन्छन् ‘होप राख ।’

त्यही होपले नै उनलाई कुन अवस्थामा ल्याइपुर्याउँछ भन्ने कथा हेर्नका लागि भने फिल्मको बाँकी अंश हेर्नुपर्ने हुन्छ । फिल्मले हरेक क्षण, हरेक पल जिज्ञासा गराउँछ । अब के हुन्छ, अब के हुन्छ भन्ने कुतुलहता जन्मिरहन्छ । फिल्ममा सदेका विगतका नोस्टाल्जियाहरू पनि आइरहन्छन् । उनको बुबा जो सरकारी व्यक्ति हुन्छन् । बहिनी हुन्छे । जो गृहयुद्धका कारण मारिन्छन् । 

१ घण्टा २३ मिनेटको फिचर फिल्म एक्सन ड्रामामा आधारित रहेको छ । सन् २०१८ मा रिलिज भए पनि उक्त फिल्म आममानिसले सन् २०२० मा मात्रै हेर्न पाए । डानिअल ओकोडुवा र माइक काङको निर्देशनमा बनेको फिल्ममा फ्लिनो डोलोसो, हवा बर्नेस र इम्मानुएल सामुल मुख्य भूमिकामा देखिएका छन् । त्यसका अलवा रिको बेन्डेसर, एन्थोल मुर्रे, क्राइग बोउर्के, अली पाना, फ्रान्क आर्तुस, सरिना सइन्जुलगायत कलाकार छन् । उक्त फिल्ममो एक्सन ड्रामा शीर्षकमा पुरस्कार समेत प्राप्त गरेको थियो । 

भोकमरी, नीर्जन स्थान र क्याप्टेनसँगको द्वन्द्वबाट सदे कसरी बाँच्न सफल भएकी छन् भन्ने नै कथाको मूल विषयवस्तु रहेको छ । आशा जीवनको एकमात्रै मार्गदर्शक हो भन्ने फिल्मले देखाउन खोजेको छ । पक्कै पनि यतिबेला कोरोनाको महामारीसँग जुधिरहेका हरेक नेपाली तथा विदेशीले हेर्नै पर्ने फिल्म हो, सर्वाइभ अर डाइ । कलाकारहरूको जीवन्त अभियन पनि तारिफयोग्य छ ।