धरान । सुनसरी र इलाममा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।
आज (बिहीबार) साढे ८ बजेतिर भएको सुनसरीको वराहक्षेत्र नगरपालिका १० दाजुभाइ चोकमा को २ त ८१८७ नम्बरको ट्याक्टरका सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाउँका २२ वर्षीय विष्णुकुमार बस्नेतको खसेर लडेपछि मृत्यु भएको हो । उनलाई पछाडिको डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक वराहक्षेत्र १० का ४५ वर्षीय भीमबहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।
त्यस्तै इलाम नगरपालिका ११ आलेचोकस्थित भित्री सडकमा ना २ ख ९२०५ नम्बरको ट्रकले पैदलयात्री ८२ वर्षीय पदमबहादुर तामाङको ज्यान गएको हो । उनको ठक्करबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरी चौकी चिसापानी इलामले नियन्त्रणमा लिएको छ । ट्रक झापाको बिर्तामोडबाट जितपुर जाँदै गरेको थियो ।