पथरी । मोरङको कानेपोखरी–रंगेली सडकअन्तर्गत कानेपोखरी–५ मा ट्याक्टर र मोटरसाइकल दुर्घटना हँुदा एक युवाको ज्यान गएको छ ।
कानेपोखरी २ केरौन चोकका ३२ वर्षीय दिलीप चौधरी बिहीबार अपरान्ह ज्यान गएको हो । दक्षिणबाट उत्तर आइरहेको को २ त ९८५८ नम्बरको लोड ट्याक्टरमा सोही दिशाबाट आइरहेको को ३२ प ३७६९ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडीको डालाभित्र छिरेको थियो । मूल सडकबाट ट्याक्टर शाखा बाटोमा मोडिने क्रममा दुर्घटना भएको हो । दुघर्टनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको अस्थाइ प्रहरी चौकी रमाइलोका सइ देवीबहादुर राउतले जानकारी दिए ।
accident_pathari 1

मोटरसाइकलमा सवार सोही वडाका २६ वर्षीय जनम पाँचकोटी भने सकुसल रहेका छन् । पथरीशनिश्चरे–६ घर भई पहिचान नखुलेको ट्याक्टर चालक भने घटनास्थलबाटै फरार भएका छन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ । ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ ।