धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीले कोरोना महामारीका बेला प्रयोग हुने स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ सुनसरीलाई वितरण गरेको छ । 

फोटो पत्रकारले तीन हजार पाँच सय थान मास्क र साढे तीन लिटर सेनिटाइजर नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई प्रदान गरेको छ । एकद्वार प्रणालीमार्फत् स्वास्थ्य सामग्री वितरण गर्ने उद्देश्यले छाता संगठन पत्रकार महासंघलाई सामग्री वितरण गरिएको जिल्ला अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए । 

पत्रकार महासंघलाई फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ, जिल्ला अध्यक्ष विकास चाम्लिङलगायतले प्रदान गरेका थिए । महासंघका अध्यक्ष जनकऋषि राईले विभिन्न संस्था तथा शुभेच्छुकबाट प्राप्त सामग्री प्राथमिकताको आधारमा वितरण गरिने जानकारी दिँदै फोटो पत्रकार महासंघलाई धन्यवाद दिए । यसअघि माधव नेपाल समूहको प्रेस चौतारी नेपालले पनि मास्क तथा सेनिटाइजर महासंघलाई हस्तान्तरण गरेको थियो । 

अघिल्लो वर्षको महामारीमा पत्रिका वितरकलाई खाद्यान्न र पत्रकाहरूलाई मास्क तथा सेनिटाइजर वितरण गरेको थियो ।