धरान । रामानन्दचार्य सेवा पीठले कोरोना महामारीमा प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै संक्रमणमुक्त हुने उपायबारे अनुष्ठान गर्ने भएको छ । 

अनुष्ठानमा एकसाथ सहभागी हुन सकेमा कोरोना महामारीलाई सबै नेपालीले जित्ने दाबी गरिएको छ । हिमालयन महायोग सिद्ध अनुष्ठान जेठ १२ गतेदेखि हरेक साँझ ५ बजेदेखि ७ बजेसम्म पन्ध्र दिनसम्म सहभागी हुन आग्रह गरिएको छ । 

पीठका महाराज कृष्णदास महाराजले आयुर्वेदीय र यौगिक पद्दतिबाट अनुष्ठान गराइँदै छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने मात्रै नभई यसले कोरोनाबाट पूणमुक्त हुनेसमेत बताइएको छ । तर, यसका लागि अनुष्ठानमा सहभागी हुनका लागि निश्चित नियमहरू पालना गर्नुपर्ने सुझाव दिइएको छ । 

सुझावअनुसार पन्ध्रदिनमध्ये पाँच दिनसम्म शरीर सोधन (सुद्ध) को काम गरिन्छ । त्यसमा पाँच इन्द्रीयको तर्पण गर्नेदेखि लिएर विकारलाई मुक्त गरेर अनुष्ठानमा सहभागी भएमा पूर्णरूपमा शरीरमा कोरोना आउनबाट बचाउन सकिने साथै कोरोनाबाट मुक्त हुन सकिने जनाइएको छ । कृष्णदास महाराजले आफूले अनुष्ठान बताइएको कुरालाई लागू गरेको अवस्थामा कोरोनाबाट मुक्ति हुन सकिने बताइएको छ । 

आयुर्वेदलाई वैज्ञानिक विधिबाट अवलम्बन गर्न सकेमा हरेक रोगबाट मुक्त हुनका लागि शरीरमा प्रतिरोधात्मक शक्ति बढ्ने बताइएको छ । महाराज कृष्णदासले भने, ‘पहिलो धर्म भनेको जीवन रक्षा हो, त्यसअनुरूप यो अनुष्ठान गरिरहेका छौं ।’

आयुर्वेद, योग, प्राकृतिक जीवनशैली र शिक्षालाई अवलम्बन गर्ने हो भने कोरोनाबाट मात्रै हैन, अन्य रोगबाट पनि मुक्त हुन सकिने उनले बताए । ‘जो जहाँ हुनुहुन्छ त्यहाँ रहेर एकदिन एकसाथ आइसोलेट भई आर्युवेदीय भोजन गरेर केवल १५ दिनमा नै महामारी मुक्त बनाउन सकिन्छ’ उनले शनिबारको पत्रकार सम्मेलनमा भने, ‘यौगिक जीवनशैलीबाट पन्ध्र दिन कसरी रहन सक्छौं भन्ने कुरा र त्यसका तौरतरिका प्रशिक्षण गर्न तयार छु ।’ 

यसक्रममा अक्सिजन उत्पादन कसरी गर्न सकिन्छ त्यसबारे पनि जानकारी गराइने उनले बताए । ‘सबैका सबैले यो अनुष्ठान एकैसाथ गर्नुपर्छ । कसैले गर्ने र कसैले नगर्ने भने पूराका पूरा देश कोरोनामुक्त बन्न सक्दैन’ उनले भने । उनले पत्रकारहरू तीन दिनभित्र यस सूचनालाई बढीभन्दा बढी मानिसमा पुर्याइदिनका लागि आग्रह गरे । यसका लागि कुनै धर्म, लिंग, जाति र समुदायप्रति लक्षित नभई जीवन रक्षा पहिलो धर्म भएकाले त्यसप्रति सजग रहन सबैलाई आग्रह गरे ।