धरान । लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण एकजना घाइते बनेकी छन् भने केही घरमा क्षति पुर्याइएको जनाइएको छ । 

भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज (बुधबार) बिहान ५ बजेर ४२ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको छ । यस भूकम्पलाई २०७२ सालको पराकम्पको रुपमा लिइएको छ । 

भूकम्पका कारण बेशीँसहर नगरपालिका–६ चनौटोकी उमा गुरुङ घाइते बनेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनको बेशीँसहरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदै छ । त्यस्तै लमजुङ मस्र्याङ्दी–३ खुदी तरापुमा बासुदेव खत्रीको घर भत्किएको छ । 

नेपालमा २०७२ सालको वैशाख १२ र २९ गते विनाशकारी भूकम्प गएको थियो । जसमा ८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने करोडौंको भौतिक संरचना, राष्ट्रिय सम्पदा, पुरातात्विक महत्त्वका संरचनाहरुमा क्षति पुगेको थियो । 

नेपालमा प्रत्येक ८० देखि १०० वर्षमा शक्तिशाली भूकम्पहरु जाने गरेको भूकम्पविद्हरुले बताउँदै आइरहेका छन् । विक्रम संवत् १९९० मा पनि नेपालमा शक्तिशाली भूकम्प गएको थियो । पूर्वी भागमा भने २०४५ सालमा गएको भूकम्पलाई शक्तिशाली मानिन्छ । उदयपुरको मुर्कुच्ची भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा धरानमा सबैभन्दा बढी क्षति पुगेको थियो । त्यो कालमै धरानलाई मृत सहरको रुपमा परिभाषित गरिएको थियो । 

२०४६ सालमा बहुदल आएपछि २०४८ सालको स्थानीय तहको निर्वाचन पछि नै धरानले नयाँ स्वरुप फेर्न थालेको हो । हालै भारतको आसामलाई केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नीच्यूडको भूकम्प जाँदा पूर्वी भागमा महसुस गरिएको थियो । जसको असर भने नेपालमा परेन । 

निरन्तर अपडेट समाचार......