धरान । नेपालमा पछिल्लो केही सातादेखि निरन्तर ८ हजार माथि कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । 

मंगलबार नेपालमा ८ हजार २०३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार २८६ र एन्टिजेनबाट ६९३ जनाको नमूना संकलन गरी परीक्षण गरिएको थियो । 

नेपालमा कुल संक्रमितको संख्या पौने पाँच लाखको हाराहारीमा पुगेको छ । मन्त्रालयका अनुसार ४ लाख ७२ जहार ३५४ जना संक्रमित पुगेका छन् । त्यसमध्ये ३ लाख ५२ हजार ४१४ जना कोरोनामुक्त बनेका छन् । सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा एकसय ९६ जनाको ज्यान गएको छ । सोमबार २१४ जनाको ज्यान गएको थियो । देशभरि ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ । नेपालमा दैनिकजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । मृत्युदर पनि भारतको भन्दा बढी छ । भारतमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या घटिरहँदा नेपालमा भने स्थीर रहेको छ ।