इनरुवा/ पूर्ण निधेधाज्ञा जारी गरिएसँगै आज विहानैबाट सुनसरी सुनसान देखिएको छ ।
कोरोनाका संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले आजबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा लगाएको छ ।
डीसीसीएसीको निर्णय सँगै जारी निषेधाज्ञालाई यस पटक भने पूर्ण कडा बनाइएको छ । सडक देखि नाका र गौंडा सम्म सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
राजमार्गमा अत्यावश्यक सवारीका साधन फाट्टफुट्ट बाहेक संचालन गर्न दिइएको छैन् ।
यस अघि जारी निषेधाज्ञा सर्वसाधारणबाट उल्लंघन भएकाले समेत प्रशासनको पछिल्लो निर्णय सँगै जिल्लाभर पूर्ण कडाइ गरिएको छ ।
प्रहरीले जिल्ला जोड्ने सीमावर्ती नाकाहरुमा समेत सर्तकता बढाएको छ । ति स्थानहरुमा प्रहरीले कडा चेकिङ गरिरहेको छ भने जिल्ला प्रवेशमा पूर्ण रोक लगाएको छ ।
सुनसरी प्रहरीले सर्वसाधारणलाई अटेर गरी घर बाहिर निस्किए सडकमै कार्वाही गर्ने चेतावनी दिएको छ । उसले अत्यावश्यक नपरी कोही कसैलाई नहिड्न माइकिङ गरिरहेको छ ।
यसैबिच सुनसरीमा नेपाली सेना समेत सडकमा निस्किएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचेतना जगाउने उद्येश्यसाथ सेना खटिएको बताए।
जिल्लाका धरान, इटहरी र इनरुवा जस्ता प्रमुख शहरमा सेनाको सकृयता बढाइएको प्रजिअ ढकालले जानकारी दिए। उनका अनुसार नेपाली सेनाले सचेतना सन्देश सहित शहर बजार लक्षित गरी गस्ती थालेको छ ।
सुनसरी प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने उपर प्रहरीलाई कार्वाहीको अधिकार दिइएको जनाएको छ । उसले जिल्लावासी समक्ष निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ ।
सुनसरीमा दोस्रो चरणको संक्रमण फैलिए सँगै संक्रिय संक्रमितको संख्या २ हजार ५ सय नाघेको छ । ४० जनाले संक्रमणका कारण ज्यान गुमाइ सकेका छन् ।
सोही कुरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले फैलदो संक्रमणलाई घटाउन जेठ १५ सम्म जिल्ला ठप्प पार्ने निर्णय लिइएको बताउँदै आएको छ ।